मालपोत कार्यालय तुलसीपुरका प्रमुख सहित चारजना विरुद्ध मुद्धा दायर

 पुष ०२, २०७७

तुलसीपुर ।

मालपोत कार्यालय, तुलसीपुरका प्रमुख मालपोत अधिकृत नरेश कुमार खड्का सहित ४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख मालपोत अधिकृत खड्का, मुद्दा फाँटका नासु केशवराज अधिकारी, मोठफाँटका नासु पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

उनीहरुमाथि सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने काम अगाडि बढेकोमा अन्त्यमा गरिने स्थलगत सर्जमिन गर्ने काम अड्काई घुस लिएको आरोप छ ।

सेवाग्राहीको नियमानुसार निशुल्क गर्नुपर्ने कामको लागि दुख हैरानी दिई झुलाई तीन लाख २० हजार घुस लिएको पुष्टि भएको अख्तियारको आरोप पत्रमा उल्लेख छ । उनीहरुविरुद्ध घुस लिएको रकम विगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता एवं सहसचिव तारानाथ अधिकारीले जानकारी दिएका छन ।

प्रेस विज्ञप्ति:- मिति २०७७।०९।०२ गते ।

—————————————————-

मालपोत कार्यालय, तुलसीपुर दाङका ना.सु. पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेले सेवाग्राहीले सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराई दिने प्रयोजनको लागि घुस/रिसवत माग गरेको भन्ने उजुरी एवं सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिई गएको टोलीले निजहरु पुष्पराज गिरी र मिनराज गैरेलाई सेवाग्राहीबाट रु. ३,२०,०००।– (तीन लाख बीस हजार) घुस/रिसवत बापतको रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा मालपोत कार्यालय, तुलसीपुर दाङका कार्यालय प्रमुख मालपोत अधिकृत नरेश कुमार खड्का, मुद्दा फाँटका ना.सु. केशवराज अधिकारी, मोठफाँटका ना.सु. पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेले मिलेमतो गरी सेवाग्राहीले सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने काम अगाडि बढेकोमा अन्त्यमा गरिने स्थलगत सर्जमिन गर्ने काम अड्काई सेवाग्राहीको नियमानुसार निशुल्क: गर्नुपर्ने कामको लागि दु:ख हैरानी दिई झुलाई कार्यालय प्रमुख नरेश कुमार खड्का, ना.सु. केशवराज अधिकारी, ना.सु. पुष्पराज गिरीको योजनाबमोजिम निजहरुले भने अनुसार कार्यालय सहयोगी मिनराज गैरेले रु. ३,२०,०००।– घुस/रिसवत रकम माग गरी बुझिलिएको पुष्टि हुन आएकोले निजहरुको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकोले निजहरु नरेश कुमार खड्का, केशवराज अधिकारी, पुष्पराज गिरी र मिनराज गैरेलाई जनही रु. ३,२०,०००।– (तीन लाख बीस हजार) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
तारानाथ अधिकारी

तपाईंको प्रतिक्रिया