अष्ट्रेलिया १९१ रनमै अलआउट,भारतभन्दा ५३ रनले पछि

 पुष ०३, २०७७

काठमाडौं

बोर्डर गावस्कर ट्रफी अन्तर्गत भारतविरुद्धको पहिलो टेष्टको पहिलो इनिङ्समा घरेलु टोली अष्ट्रेलिया १९१ रनमै अलआउट भएको छ । कप्तान टिम पेनले अर्धशतक बनाएपनि भारतीय बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दा अष्ट्रेलिया पहिलो इनिङ्समा भारतभन्दा ५३ रनले पछि परेको हो ।

दोस्रो दिनमै भारतले आफ्नो पहिलो इनिङ्स सुरु गरिसकेको छ र ९ रन जोड्दा १ विकेट गुमाइसकेको छ । दोस्रो दिनको खेल सकिँदा भारतले ६२ रनको अग्रता बनाएको छ ।

दोस्रो दिन २३३-६ बाट भारतले खेल अघि बढाएको थियो । तर थप ११ रन जोड्दै २४४ रनमा अलआउट भयो । त्यसपछि आफ्नो पहिलो इनिङ्स सुरु गरेको अष्ट्रेलिया १९१ रनमा अलआउट भएको हो । अष्ट्रेलियाका लागि विकेटकिपर कप्तान टिम पेनले ९९ बल खेल्दै १० चौकाको मद्दतमा सर्वाधिक ७३ रन बनाए । यस्तै मार्नुस लाबुसचेनले ४७ रन जोडे ।

भारतका लागि रविचन्द्र आश्विनले सर्वाधिक ४ विकेट लिए । यस्तै उमेश यादवले ३ र जसप्रित बुमराहले २ विकेट लिए ।

अष्ट्रेलियालाई अलआउट गर्दै पहिलो इनिङ्समै ५३ रनले अघि रहेको भारतले दोस्रो दिनमै दोस्रो इनिङ्स सुरु गरेको थियो ।

ओपनर पृथ्वी श को खराब फर्म जारी रहँदा भारतले ६ ओभर खेल्दा १ विकेट गुमाएर ९ रन जोडेको छ । ४ रन बनाएका पृथ्वी श प्याट कमिङ्सको बलमा बोल्ड भए । मायांक अग्रवाल ५ रनमा अविजित छन् भने तेस्रो नम्बरमा ब्याटिङमा आएका बलर जसप्रित बुमराहले खाता खोल्न बाँकी छ ।

तपाईंको प्रतिक्रिया