-->

हामि सबैका गुरू

 पुष २१, २०७७

डिल्ली बस्नेत संगीत, तुलसीपुर ।

ज्यूँदै म¥याको भनी नाम कसको ।
उद्यम विना बित्छ काल जसको ।।
आदिकवि भानुभक्त आचार्यद्वारा रचित कविताका केही अंश सापटीको रूपमा लिँदै भन्न मन लाग्यो जिन्दगीको डायरीमा केवल ३ पाना मात्र हुन्छन् । जनम र मरण हाम्रो हातमा छैन । केवल कर्ममात्र हाम्रो हातमा हुन्छ । त्यसैले जिन्दगीको डायरीका ३ पानामा बिचको पाना खाली हुन्छ । त्यही खाली कागजमा कर्मको माध्यमबाट जे जस्तो लेखिन्छ त्यही नै हाम्रो जिन्दगी हो । तसर्थ, विना कर्म जिन्दगी ब्यतित गर्नु भनेकै ज्यूँदै मर्नु हो भन्ने कविको आशय देखिन्छ ।


हरेक मान्छेको आआफ्नै स्वभाव हुन्छ । स्वभाव ऐना हो । जहाँ छर्लङ्ग देखिन्छन् जीवनका दृश्य परिदृश्यहरू । जीवन आफैँमा एक पाठशाला हो । जीवनलाई पढ्न जाने जीन्दगीको भवसागरबाट पार पाउन सकिन्छ । तैपनि, मान्छे बाहिरी दुनियालाई पढिरहेको छ । आफूलाई पढ्न सकिरहेको छैन । मान्छे आफैमा बडो विचित्रको देखिन्छ । न कसैको अभावमा बाँच्न सक्छ मान्छे न कसैको प्रभावमा नै । आफ्नै स्वभावमा बाँच्न चाहने मान्छे चरित्रलाई विशेष ध्यान दिन्छ ।
समय आफ्नै अनुसार चल्छ चाहे त्यो जति नै महंगो घडी किन नहोस् । घडी बदल्दैमा समय बद्लिदैन । चित्र बदल्दैमा चरित्र पनि बदलिदैन । चित्र र चरित्र एउटै हो सजाएर राखे अमर हुन्छ नत्र बजारमा ब्यापार । चरित्रमा दाग लागे जीन्दगी ज्यूँदै नर्क तुल्य हुन्छ ।
चरित्रलाई बढी महत्व दिने अग्रगामी सोच र चिन्तन भएकोविसीष्ट व्यक्तित्व जो न कहिल्यै झुक्यो , न कहिल्यै रूक्यो सदैव अगाडि बढ्दै रह्यो अविरल गतिमा । त्यो सफल व्यक्तित्वको नाम हो वरिष्ठ पत्रकार, साहित्यकार एवम् समाज सुधारक नारायणप्रसाद शर्मा (गुरू) ।
घोराही उपमहानगरपालिका –१७, बरगद्धीमा पिता यादव प्रसाद शर्मा र माता जीवादेवी शर्माको कोखबाट वि.सं. १९८८ साल शिवरात्रीको दिन नारायण प्रसाद शर्माको जन्म भएको थियो । त्यो बेलाको जमानामा सरकारी विद्यालयहरू थिएनन् । घरमै बुवासँग अक्षरआरम्भ गर्नु भएका शर्माले २००४ सालको सेरोफेरामा मात्र विजौरीको भाषा पाठशालमा रूद्री , चण्डी , अमरकोष, लघुकमौदी जस्ता पुस्तकहरू पढेको बताउनुहुन्छ । त्यसवेलाका धनाढ्यको रूपमा चिनिने पटवारी र मुख्यका छोराछोरीहरू पढाउन घरमै माष्टर राख्ने गरिन्थ्यो । त्यो अवस्था आफ्नो नरहेको बताउने गुरू सानैदेखि जिज्ञासु स्वभावको हुनुहुन्थ्यो । चेतनाको स्तर कमजोर भएपनि कुनै पनि कुरा जान्न चाहनेउहाँको जिज्ञासु स्वभाव नै थियो । निरङ्कुस जहानीयाँ राणशासनको व्यवस्थामा जनताका छोराछोरीले पढ्न लेख्न पाउनु प्राय ः असम्भव नै थियो । मान्छेहरू अन्धश्रद्धा भएका थिए । नयाँ सोच हुँदैनथ्यो ।
निम्न मध्यमवर्गिय परिवारमा जन्मेका गुरूबाल्यावस्थादेखि नै अग्रगामी सोचको हुनुहुन्थ्यो । उहाँलाई जातीय भेदभाव तथा संकीर्णता पटक्कै मन पर्दैनथ्यो । साम्प्रदायिक धर्मलाई वास्तवमा धर्म नै नभएको ठान्नुहुने उहाँको विचारमा धर्म भनेको प्रकृति बमोजिम चल्नु हो । प्रकृतिको सत्यतालाई स्वीकार गरी विधि र प्रकृयालाई मान्नु नै वास्तवमा धर्म हो । धर्म भनेकै नैतिकता र कर्तव्य ठान्नुहुने उहाँले मानव धर्मनै सबैभन्दा ठूलो धर्म मान्नुहुन्छ । सके सबै प्राणीको भलो गर्ने नसके मानवको भलो गर्नुपर्दछ भन्ने मान्यता बोकेका गुरू सकेसम्म मानवता विरोधी काम मान्छेले गर्नै हुँदैन भन्नुहुन्छ ।
बुवाको स्वभाव नै अर्काको ऋण खानुहुन्न र सामान्य जीवन बिताउनु पर्छ भन्ने छाप आफूमा सानैदेखि परेको बताउने गुरू आफैँमा सादा जीवन र उच्च विचारको मान्छे हुनुहुन्छ । यद्दपि, त्यो बेलामा जग्गा जमिन प्रशस्त भए पनि सधै पुगेस पुगेस हुन्थ्यो भन्दै उहाँले ऐसआरामको जिन्दगी आफ्नो लागि धेरै टाढा भएको बताउनु हुन्छ ।
वि.सं. २०१३ सालमा गोरखपुरबाट एस.एल.सी.गरेका गुरूले आफ्नो पढाइ खर्चको लागि घरकोे ५० रूपैँया जति मात्र खर्च गरेको बताउनुहुन्छ । उहाँले संस्कृतमा मध्यमा र नेपालीमा एम.ए. गर्नुका साथै विभिन्न तालिम र गोष्टीहरूमा पनि भाग लिनुभएको छ । लामो समयसम्म शिक्षण पेशा गरेका गुरूले आफूले जे जति पढियो त्यो सबै प्राइभेट शिक्षाको रूपमा पढेको पनि बताउनुहुन्छ ।
मान्छेको आआफ्नै स्वभाव हुन्छ । त्यही स्वभावले उसलाई कर्मतिर डो¥याउँछ । गुरू जुन वातावरणमा हुर्किनु भयो त्यो वातावरणले उहाँलाईसानैदेखि केही गर्नुपर्छ भन्ने थप प्रेरणा बोध गराएको देखिन्छ । संस्कृतमा छन्दोमय कविताहरूतथा नेपाली साहित्यमा भानुभक्तका कविताहरू गाउन सिपालु गुरूले २००८ सालमा भरतपुर स्कूलमा पढ्न थाले पछि कविता लेख्न सुरूगरेको बताउनुहुन्छ । करिब एक दर्जन साहित्य कृतिहरू प्रकाशन गर्न सफल उहाँका कृतिहरूकाव्य विधा, गद्य विधा र बुद्धको विश्व चिन्तन (अनुवाद) को रूपमा प्रकाशित भएका छन् ।
पत्रकारिता क्षेत्रमा २०३३ सालदेखि लागेको बताउने गुरूले २०२४ सालदेखि साहित्यिक पत्रिका अन्र्तध्वनिमा काम गरेको देखिन्छ ।वि.सं.२०३३ सालदेखि खुलेको युगवोध पत्रिका सुरूवातमा पाक्षिक , साप्ताहिक हुँदै हाल दैनिक रूपमा प्रकाशित भइरहेको छ । युगबोध पत्रिकाका संस्थापक तथा सम्पादक गुरूले पछिल्लो अवस्थामा पत्रिकाको सम्पूर्ण जिम्मेवारी आफ्नो छोरालाई हस्तान्तरण गरेको बताउनुहुन्छ ।
जीन्दगीका घुम्तीहरूमा थुप्रै आरोह र अवरोहहरू भोगेका गुरूले पत्रकारिता भन्दा राजनैतिक क्षेत्रमा बढी संघर्ष गरेको देखिन्छ । २००७ सालको राजनैतिक संघर्षलाई सम्झिदै उहाँ भन्नुहुन्छ , ‘‘२००७ सालको क्रान्तिमा जातभात विरूद्ध आन्दोलन भयो । एकथरे बाहुनवादीहरूले आआफ्ना मान्छेहरूलाई चोख्याउने क्रम चलाए । मन परेको मान्छेलाई चोख्याउनेएकप्रकारको कुप्रथाको लहर नै चलेको थियो । यस बारेमा मैले एउटा कविता पनि रचना गरेको थिएँ ।
पसिना प्यूनु हुन्छ थारू मगर पुनको


तर भात भान्सा छुनुहुन्न तिनले बाहुन जातको ।
मलाई त्यसरी जातपात र भेदभाव गरेको पटक्कै मन परेन । त्यही कारणले मैले कामी कहाँ कथा लगाउन गएँ । पुनर्विवाह भन्ने पुस्तक लेखेँ । अनि व्यवहारमा पनि हामीले उता¥यौँ । त्यसैगरी शोषित, पीडित किसानको पक्षमा आवाज बुलन्द गर्न किसान संगठनमा लागियो । ठूल्ठूला आन्दोलनहरू भए । ३ बर्षसम्म नेल सहित जेल बसियो । पुन ः ७ महिना जेल बसेँ। जेलमा बस्दा १० दिनसम्म पुलिसले कठोर यातना दियो । राजनैतिक संघर्षमा निकै लागियो । २००७ सालको क्रान्तिमा सहभागी भइयो ।”

सिद्धान्तका बोक्रा फलाक्नेहरू धेरै छन् हाम्रो समाजमा । त्यही बोक्रामा चिप्लिएर लडेका पनि धेरै देखिन्छन् यहाँ । सिद्धान्त सिंगो शरीर हुँदाहुँदै पनि यदि गति भइदिएन भने त्यो ज्यूँदो लाश हुन्छ । त्यसैले जीवनमा गति भर्न सिद्धान्तले मात्र हुँदैन व्यवहार पनि चाहिन्छ । व्यवहार भनेकै काम हो । यहीँनेर एक जना अमेरिकी साहित्यकारको प्रसङ्ग जोड्न मन लाग्यो । उनले कुनै बेला भनेका थिए , ‘‘एक टन सिद्धान्तको तुलनामा एक औँस कामको धेरै मूल्य रहन्छ ।’’ सायद यो कुरालाई सही रूपमा गुरूले चरितार्थ गरेको देखिन्छ ।

समाज रूपान्तरणको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउन सफल गुरूले वि.सं.२०२१ देखि २०३५ सालसम्म १४ बर्ष शिक्षण पेशा गर्नुभयो ।शिक्षण पेशा गर्दागर्दै पत्रकारितमा लागेका उहाँले यस क्षेत्रमा लामो योगदान दिएको नकार्न सकिदैन । पत्रकारिता गर्दागर्दै पनि ठूल्ठूला अवरोधको सामना गर्नुप¥यो गुरूलाई । बहुदल आएपछि २ पटक संकटकालको सामाना गर्नु परेको बताउँदै उहाँले त्यसबेलामा सेनाले आफूलाई ठूलो मानसिक यातना दिएको बताउनु भयो । राति राति आफ्नो छापाखानामा ४०÷५० जनाको सेनाको डफ्फा आएर घेरा हालेको बताउँदै सेनाले आफूलाई पकडेर लगेको बताइ रहँदा उहाँको अनुहारमा आक्रोश देखिन्थ्यो । केही घण्टासम्म केरकार गर्दा आफूलाइ ठूलो मानसिक तनाव भएको बताउँने गुरूलाई जीवन यत्तिकै रहेछ भन्ने सम्म पनि लागेछ । तैपनि, बच्न सफल भएको घटना उहाँ बताउनुहुन्छ । पत्रकारिता सँगसँगै नागरिक आन्दोलनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल गुरूले साहित्यको उन्नयन तथा चेतनाको स्तरवृद्धिका लागि दाङमा सर्वोदय पुस्तकालय पनि खोल्नु भयो ।

काम गर्दै जाँदा सफलताले पनि साथ दिँदै गयो गुरूलाई । चाहे त्यो भाते विद्रोहको आन्दोलन होस् चाहे त्यो शिक्षा प्रचारको आन्दोलन नै किन नहोस् हरेक क्षेत्रमा सफलता मिल्दै गएको बताउनुहुने गुरूले महिला विभेदको आन्दोलन, राजनैतिक आन्दोलन र पत्रकारिता लगायत हरेक क्षेत्रमा सफलता प्राप्त गरेकोहुँदा आफूलाई असफल भन्न नमिल्ने बताउनु भयो । त्यसैगरी पछिल्लो अवस्थामा दाङमा बृद्धाश्रम खोलेको चर्चा गर्दै त्यसलाई पनि सफलता मान्न सकिने उहाँ बताउनुहुन्छ ।

कहिल्यै नथाक्ने संघर्षशील व्यक्तित्वको जीवन कथाले म धेरै प्रभावित भएँ । समयले जन्माएको मान्छे जो समयको पदचाप सँगै हिड्न जान्यो । समयको रप्तारसँगै चल्न जान्यो । र, समयको धारसँगै आफूलाई चम्काउन जान्यो । आज उही मान्छे सफल जीवन बाँचिरहेको छ । र, सबैको श्रद्धाको पात्र बनेको पनि छ । जेहोस्, आफ्नो सामाजिक जीवनबाट पूर्ण सन्तुष्ट देखिने गुरू धेरै सफलता हासिल गरिसकेको व्यक्तित्व हुनुहुन्छ । तैपनि, उहाँमा त्यो जोश, जाँगर घटेको आभास हुँदैन । आफूले जे जस्तो गरियो त्यसलाई नयाँ पीढीले अझ राम्रो बनाउँदै जानुपर्नेमा पछिल्लो पीढी ‘खाउ पिउ र ऐस गर’ मै भुलेको देख्दा आफूलाई साह्रै दुख लागेको बताउनुहुन्छ ।

उमेरले ८९ बर्ष पुरा गरिसक्दा पनि अझैँ केही गरौँ भन्ने जोस जाँगर उहाँ भित्र सदैव रहिरहेको नै देखिन्छ ।पछिल्लो अवस्थामा बुद्धको विपस्यना ध्यान केन्द्र स्थापना गर्न लागि पर्नुभएका गुरू अगाडि भन्नुहुन्छ,‘‘ अहिलेको समाजको लागि यसको आवश्यकता छ। जबसम्म मान्छे सुध्रिदैन तबसम्म मान्छे राम्रो हुन पनि सक्दैन भन्ने मान्यतालाई आत्मसात गर्दै असल मान्छे निर्माण गर्न यसको स्थापना गरिएको हो । मलाई लाग्छ आफू नसुध्रिएसम्म अरूलाई सुधार्न पनि सकिदैन । ”

गुरूका विचारमा आफू भलो नै जगत भलो जस्तो लाग्छ । असल जीवन ज्यूँनु ठूलो कला हो । असल जीवन ज्यूँन आफू असल हुनुपर्छ । बाँच्नको लागि खाने हो, खानको लागि बाँच्ने होइन । तैपनि, कयौँ मान्छेहरू खानकै लागि बाँचिरहेको देखिन्छ । हाम्रो समाज उपभोक्तावादी समाज हो । पहिले निर्यात गर्ने देशले अहिले आयात मात्र गर्दछ । अहिले हामीलाई घेराउ छ । स्वतन्त्र तरिकाले काम गर्ने वातावरण छैन । हरेकलाई दवाव छ । आफू खुसी सोच्ने र विचार गर्ने वातावरण छैन । असल पुरानाको संरक्षण र असल नयाँको संरक्षण गर्न सक्नु पर्छ भन्ने मान्यता बोकेका गुरूले वातावरण अनुकूल बनाएर अगाडि बढ्नु पर्नेमा जोडदिनुहुन्छ ।

उमेरसँगसँगै अनुभवले खारिएका गुरू पछिल्लो पुस्ताको लागि प्रेरणाको स्रोत हुनुहुन्छ । उहाँका जीवन भोगाइका अनुभवह रूले हरेकलाई असल बन्न, असल बाटोमा लाग्न र सदैव सत्यको बाटोमा हिड्न प्रेरित गरिरहन्छन् । वि.सं.२००७ सालको घटनाले नागरिक स्तरमा ल्याएको अभूतपूर्व चेतनासंगै समाजको रूपान्तरण भएको घटना नै आफ्नो जीवनको अविष्मरणीय क्षण भएको बताउँने गुरू त्यो आन्दोलनका एक सहभागी पनि हुनुहुन्थ्यो । भाग्यवादको विरोधी गुरू सदैव आफ्नो भाग्यको निर्माता आफैँ भएको स्वीकार्नुहुन्छ ।

युगान्तकारी कदम चाल्दै समाज रूपान्तरणको यात्रामा अगाडि बढेका गुरू साँचो अर्थमा परिवर्तनको संवाहक हुनुहुन्छ । नेपाली समाजले जे जसरी उहाँलाई चिनिरहेको छ त्यो पहिचान भनेकै परिवर्तनको संवाहक नै हो । र, समाजले यसरी नै आफूलाई चिनिदिए हुन्थ्यो जस्तो लाग्छ उहाँलाई । वदलिदो समाजको बारेमा उहाँ फरक टिप्पणी गर्नुहुँदै भन्नुहुन्छ, ‘‘ बदलिदो समाज भनेकै समयको प्रवाह हो । पश्चिमा संस्कृतिले हामीलाई धेरै कुरा सिकाएको छ । प्रविधिले चनाखो पनि बनाएको छ । हामीले समयलाई सदुपयोग गर्न जानेनौँ ।

पश्चिमा देशहरू धनी छन् । तिनीहरूले विश्वलाई आफ्नो मुठीमा राख्न चाहान्छन् । त्यसको प्रभावमा हामी छौँ । एडिवी र विश्व बैंकले अनुदान नदिने हो भने हामी पक्कै पनि पछि पर्छौँ । एउटा मालिक र आसामी जस्तै हाम्रो देशको वर्तमान स्थिति छ । हामी आर्थिक दृष्टिकोणले स्वतन्त्र हुन सकेनौँ । वैचारिक दृष्टिकोणले पनि हामी स्वतन्त्र हुन गाह्रो भएको छ । हलुवामा बालुवा मिसाएको जस्तो लाग्छ हाम्रो समाज । ”

प्रेस काउन्सिलको अध्यक्ष, सांसद, पत्रकार महासंघको उपाध्यक्ष तथा प्रगतिशिल लेखक संघको केन्द्रिय सदस्यजस्ता गरिमामय क्षेत्रमा काम गरिसकेका गुरूहोचो कदको अग्लो व्यक्तित्वको रूपमा चिनिनुहुन्छ । पद र स्वार्थको लागि कसैको चाकडी नगर्ने गुरू आफैँमा एक जुझारू र स्वाभीमानी व्यक्ति हो । अवसर प्राप्तिका लागि चुनौतिसंग लड्नु पर्छ भन्ने मान्यता बोकेका गुरूलाई अझै पनि विचारले जवान भए जस्तो लाग्छ । आफ्नै गाउँ ठाउँमा रमाउन चाहाने गुरूको हृदय कोमल र पवित्र भएकै कारण सवैको प्रिय बन्न सफल हुनुभएको छ ।

समग्रमा, हरेक उतारचढाबबिच पनि सतिसाल जस्तै अडिग रहन सफल गुरू समाज परिवर्तनका संवाहकको रूपमा चिनिनुहुन्छ । आफूलाई बदल्दै समाजलाई केही योगदान गर्नसकेकै कारण गुरू सदैव सम्झन लायक पात्र बन्न सफल पनि हुनुभएको छ ।


………………समाप्त …………………..

तपाईंको प्रतिक्रिया