कक्षा ११ को पाठ्यक्रम टुङ्गो नहुदा बिद्यार्थी तनावमा

 पुष २२, २०७७

तुलसीपुर ।

पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ– कक्षा ११ का विद्यार्थी । विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैँ हुन्छ तर यस वर्ष भने फरक किसिमको समस्या र अन्योलमा कक्षा ११ का विद्यार्थी परेका छन् । विगतमा यो समयमा कक्षा ११ को आधा पाठ्यक्रम पढाइसकिने समयमा यस वर्ष भने पाठ्यक्रमकै टुङ्गो लागेको छैन ।

पाठ्यक्रम विकास केन्द्रले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६’ स्वीकृत गरेर चालु शैक्षिक सत्रदेखि कक्षा १ र ११ मा लागू गरेको थियो । नयाँ पाठ्यक्रमअनुसार पाठ्यपुस्तकसमेत तयारी गरेर विद्यार्थीको हातहातमा पुस्तक पुग्न लाग्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि पढाइ सञ्चालन हुनसकेको छैन । भगवता अर्यालले गत असोज २८ मा संविधानको अनुसूची–८ मा स्थानीय तहको एकल सूची तथा स्थानीय सरकारको अधिकार क्षेत्रमा केन्द्रले पाठ्यक्रम प्रारूप तयार गरेको दाबी गर्दै रिट दर्ता गरेका थिए।

रिटमाथि सुनवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले ‘पाठ्यक्रम प्रारूप कार्यान्वयन नगर्नू, यथास्थितिमा राख्नू’ भनी अन्तरिम आदेश दिएको थियो । त्यसपछि पनि चारपटक तोकिँदासमेत फैसला हुनसकेको छैन । अब फैसलाको पेसी पुस २७ लाई तोकिएको छ ।

तपाईंको प्रतिक्रिया