कांग्रेस-नेकपा झडपपछि राडी बजारमा निषेधाज्ञा

 माघ ०७, २०७७

तुलसीपुर ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले आठबिसकोट नगरपालिका–९ स्थित राडी बजारमा निषेधाज्ञा जारी गरेको छ । मंगलबार दिउँसो कांग्रेस र नेकपा (दाहाल–नेपाल समूह)का युवाहरुबीच झडप भएपछिको उत्पन्न परिस्थितिलाई सामान्य पार्न अनिश्चितकालका लागि साँझ ५ बजेबाट लागू हुने गरी निषेधाज्ञा जारी गरेको जिप्रकाले जनाएको छ ।

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले चार किल्ला तोकेर पूर्वमा घारीखोला, पश्चिममा ठूलीभेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजेमा लागू हुने गरी निषेधाज्ञा जारी गरेका हुन् । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र ६ (३क) अनुसार निषेधाज्ञा जारी गरिएको बताइएको छ ।

मंगलबार दिउँसोको झडपमा परी आठबिसकोट नगरपालिका–९ का अध्यक्ष तारक शाहीसहित तीनजना कांग्रेसनिकट युवा घाइते भएका छन् । उनीहरुको आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पार्टी प्रवेशको विषयलाई लिएर दुई पक्षबीच झडप भएको हो । झडपका कारण स्थिति उग्र बन्दै गएपछि प्रहरीले हवाई फायरसमेत गरेको थियो ।

तपाईंको प्रतिक्रिया