बस दुर्घटनामा दाङका दुई जनाको ज्यान गयो

 माघ ०८, २०७७

तुलसीपुर ।

सर्लाहीमा बिहीबार बिहान बस अनियन्त्रित भएर पल्टिँदा दुईजनाको मृत्यु भएको छ । अरु १७ जना घाइते भएका छन् । दाङबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस आफै अनियन्त्रित भई सर्लाहीको हरिवन नगरपालिका स्थित पूर्व पश्चिम राजमार्गको सशस्त्र क्याम्प नजिकै दुर्घटना भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

बस बाटोबाट १० मिटर तल पल्टिँदा बसमा सवार दाङको राप्ती गाउँपालिका वडा नं. ५ का ३६ वर्षीया राजकुमारी चौधरीको घटना स्थलमा र २३ वर्षीया निर्मला चौधरीलाई उपचारको लागि वीरगंज न्यूरो लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रवक्ता कुँवरले जानकारी दिए । बसमा सवार अन्य ३० जना मध्ये चालकसहित पाँचजनाको अवस्था गम्भीर रहेको र तिनीहरुको उपचार न्यूरो अस्पताल वीरगंजमा भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया