भागरथी हत्या प्रकरण: एक शंकास्पद व्यक्ति पक्राउ

 फागुन ०४, २०७७


काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा एक जना शंकास्पद व्यक्ति पक्राउ परेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय, बैतडीका एक अधिकृतले बताएअनुसार घटनामा उनको संलग्नता देखिने केही आधार भेटिएको छ । बैतडी प्रहरी स्रोतका अनुसार उनी सार्वजनिक पदमा रहेका व्यक्ति हुन् र कञ्चनपुरबाट समातेर बैतडी ल्याइएको थियो ।

उनको शारीरको विभिन्न भागमा चिथोरिएको जस्तो चोट देखिएको छ । तर उनले रुखबाट लडेर घाउ भएको दाबी गरेका छन् । चिकित्सकले भने रुखबाट लडेको जस्तो नदेखिने बताएका छन् । स्रोतका अनुसार उनी २१ माघमा अपराधस्थल वरपरी देखिएका थिए ।

जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमको प्रतिवेदन र प्रहरीको म्यानुअल अनुसन्धानको अनुमान अनुसार भट्टको हत्या २ देखि ३ बजेको बीचमा भएको हो । उनी चार बजेतिर त्यसक्षेत्रमा देखिएको बैतडी प्रहरीका एक कनिष्ठ अधिकारीले बताए ।

उनले विगतमा पनि महिलाहरुमाथि दुर्व्यवहारजन्य गतिविधि गर्ने प्रयास गरेको पाइएको समते प्रहरीले बताएको छ । भागरथी हत्या प्रकरणपछि भने उनी भारततिर भाग्न खोजेको प्रहरीको आशंका छ । अनलाइन खबरबाट

तपाईंको प्रतिक्रिया