स्वर्गद्वारीमा बन्यो बालबालिकाका लागि पार्क

 फागुन ०९, २०७७

शुसिला बुढा मगर, प्युठान ।
प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ मानुङखोलामा आधुनिक चिल्ड्रेन पार्क निर्माण गरिएको छ ।
खोला छेउमै रहेको बाँझो बगरलाई सदुपयोग गरी सुविधासम्पन्न पार्क निर्माण गरिएको हो । पार्क करिब १० रोपनी क्षेत्रफलमा फैलिएको छ ।
सघन सहरी तथा भवन डिभिजन आयोजना दाङमार्फत २०७५ बाट पार्क निर्माण थालिएको हो । पार्क निर्माणपछि १८ असार २०७७ मा वडा कार्यालयलाई हस्तान्तरण गरिएको वडाध्यक्ष वासु रेग्मीले जानकारी दिए ।
करिब ४ करोड ६८ लाख ९२ हजार ४ सय ८६ रुपैयाँ लागतमा पार्कमा विभिन्न सौन्दर्यसहितका संरचना निर्माण गरिएको छ । पार्कमा विभिन्न जातका फूल तथा बिरुवा, २ वटा सुविधासम्पन्न हलसहितको भवन, चमेनागृह, विश्राम स्थल, गाडी पार्कलगायत संरचना निर्माण गरिएको वडाध्यक्ष रेग्मीले बताए ।

नवनिर्मित पार्कमा खानेपानी, बाल उद्यान, पिकनिक स्पटका लागि चाहिने भौतिक संरचना निर्माणाधीन अवस्थामा रहेकाले पूरा हुन केही समय लाग्ने उनले बताए ।
बालबालिकालाई केन्द्रित गरी निर्माण गरिएको यो पार्कमा थप सुविधासम्पन्न संरचना निर्माणमा स्थानीय तह लागिपरेको उनको भनाइ छ ।
पार्क निर्माणपछि नगरपालिकाले १ जना हेरालुसमेत राखेको छ । पार्क घुम्न आन्तरिक पर्यटकसमेत पुग्ने गरेको वडाध्यक्ष रेग्मी सुनाउँछन् ।
पार्कको थप संरक्षण र संरचना निर्माणका लागि आगामी वर्षदेखि नगरपालिकाबाट बजेट विनियोजन गरी प्यूठानकै नमुना पार्क निर्माणमा पहल गरिने उनको धारणा छ ।

तपाईंको प्रतिक्रिया