मेलम्ची खानेपानीको सुरुङकाे परीक्षण गरिने

 फागुन १०, २०७७

काठमाण्डाै ।

बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिन लागिएको हो । आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न सुरु गरिने छ । खानेपानीमन्त्री मणि थापाको उपस्थितिमा सुरुङमा पानी हालेर परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो ।

गएको असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलुम्बु गाउँपालिका–१ मा रहेको अम्बाथानको अडिटको मुख्य गेट फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो । त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चार जना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरेको थियो ।

आयोजनाका कार्यकारी निर्देश तिरेश खत्रीले विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको बताउनुभयो । परीक्षणका क्रममा हेलिकोप्टरलाई तयारी अवस्थामा राखिएको छ ।

उद्धार योजना बनाएर धुलिखेलदेखि काठमाण्डौमा रहेका विभिन्न अस्पतालहरुसँग समन्वय गरिएको छ । खत्रीकाअनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाण्डौको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ । सुरुवाती चरण भएकाले सुरुङको क्षमताअनुसार पानी नछाडिने उहाँले बताउनुभयो ।

तपाईंको प्रतिक्रिया