पुरन्धारा झरनाको बिकासबारे छलफल

 फागुन ११, २०७७

प्रेमबहादुर राम्जा हापुरे ।

बबई गाउँपालिकाको पर्यटकिय क्षेत्र पुरन्धारा झरनाको बिकासका लागि सरोकारवालासंग छलफल गरिएको छ । “आर्थिक समृद्धिमा बबईको आधार, पर्यटकीयक्षेत्र पुरन्धारा झरनाको पूर्बाधार” भन्ने नाराका साथ पुरन्धारा झरना पूर्बाधार बिकास सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम भएको हो ।

बबई गाउँपालिकाले आयोजना गरेको छलफलमा पालिका भित्र रहेका जनप्रतिनीधि, कर्मचारी, विभिन्न राजनीतिक दलका नेता तथा स्थानीयको सहभागीता रहेको थियो । छलफल कार्यक्रममा बोल्ने सरोकारवालाले पुरन्धारा झरनाको बिकास गर्दा पुराना संचरना संरक्षण गरी गर्न सुझाव दिएका छन् । बिकासका नाममा पुराना संचरनामा असर नपर्ने गरी काम गर्न सहभागीहरुले बताएका हुन् ।

छलफलमा बोल्ने स्थानीयले शान्ति सुरक्षा, पिउने पानीको ब्यबस्था, सडक यातायातलाई समेत सहज बनाउन आग्रह गरिएको छ । पानीको मुहान संरक्षण गर्न सुझाव दिदै झरना वरपर रहेको बन क्षेत्रलाई समेत संरक्षण गर्नुपर्ने बताएका थिए । स्थानीय पुर्णबहादुर केसीले झरनाको बिकासका लागि शान्ति सुरक्षा, पानीको मुहान संरक्षण र असहज रुपमा रहेको सडकलाई सहज बनाउने कार्यमा ध्यान दिन आग्रह गरिएको छ ।

कार्यक्रममा बोल्दै डिभीजन बन कार्यालय दाङका प्रमुख बिजयराज सुबेदीले पुरन्धारा झरनालाई पर्यापर्यटिय क्षेत्रका रुपमा बिकास गर्नुपर्ने बताउनुभयो । प्राकृतिक श्रोतको संरक्षणको जिम्मा स्थानीयमा रहेको भन्दै त्यसको जिम्मेवारी लिन आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका सुबेदीले झरनाको बिकासका लागि तयार पारिएको गुरुयोजनालाई बबई गाउँपालिकाको कार्यपालिका बैठक मार्फत् पास गरी काम अघि बढाउन आग्रह गर्नुभयो ।

पुरन्धारा झरनाको बिकासका लागि तयार पारिएको गुरुयोजनाको बारेमा जानकारी गराउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्लले मुख्य गेट, बसपार्क, पार्क, चिल्ड्रेन पार्क, प्रतिक्षालय, शौचालय, मन्दिर, पसलका लागि सटर, पानीको ब्यबस्थासहित तयार पारिएको जानकारी दिनुभयो ।

झरनाको बिकासका लागि तयार पारिएको गुरुयोजनाले ९ करोड ९१ लाख २९ हजार ५४७ रुपैया अनुमानित रकम लाग्ने आँकलन गरिएको छ । पहिलो चरणमा पर्यटन मन्त्रालय मार्फत् चालु आर्थिक बर्षमा ३ करोड ५० लाख प्राप्त भएको छ भने गाउँपालिकाले १ लाख ५० लाख गरी ५ करोड बजेटको ब्यबस्था गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति दाङका सदस्य जक्तबहादुर बस्नेत, बबई गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष टेकबहादुर वली, नेपाल कम्युनिष्ट पार्टी नेकपा लुम्बिनी प्रदेश सदस्य भिमबहादुर वली, नेपाली काँग्रेसका ईकाई सभापति बलबहादुर बुढा क्षेत्री, जनता समाजबादी पार्टीका आइतराम कामीले बोल्नुभएको थियो ।

उपाध्यक्ष साबित्रा बिश्वकर्माको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख तिलक केसीले गर्नुभएको थियो । पुरन्धाराको बिकासका लागि चालु आर्थिक बर्षमै सुरु गर्ने तयारी समेत गरिएको छ ।

तपाईंको प्रतिक्रिया