बागलुङ र पूर्वी रुकुमको सीमा विवाद सुल्झाउने प्रयास

 फागुन १८, २०७७

तुलसीपुर ।

बागलुङ र पूर्वी रुकुमको सीमा विवाद सुल्झाउने प्रयास थालिएको छ । बागलुङको निसीखोला गाउँपालिका र पूर्वी रुकुमको भूमे गाउँपालिकाको सीमामा वर्षौँदेखि विवाद छ । भूमे गाउँपालिकाले २०७४ सालमा बागलुङको भू–भागमा आएर प्रवेशद्वार निर्माण गर्न थालेपछि विवाद झनै बढेपछि अहिले दुई जिल्लाका सरोकारवाला निकाय सीमा विवाद सुल्झाउने प्रयासमा लागिपरेका छन् ।

केही दिनअघि भएको सरोकारवालाबीचको बैठकले यही चैत महिनाभित्रै अध्ययन प्रतिवेदन तयार गर्ने र प्रतिवेदनका आधारमा सीमा विवाद टुङ्ग्याउने सहमति भएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।

निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले मध्यपहाडी लोकमार्गले जोडिएका दुई जिल्लाको सिमानामा भौतिक संरचना निर्माण हुन थालेपछि विवाद उत्पन्न भएको र यसलाई दुवै स्थानीय तहले सुल्झाउने गरी दुवै जिल्लाका सरोकारवालाबीच सहमति भएको बताए ।

शिलापत्रबाट

तपाईंको प्रतिक्रिया