सरुमारानीमा राष्ट्रपति रनिङ शिल्ड सुरु

 फागुन २०, २०७७


शुसिला बुढा मगर, प्युठान ।

सरुमारानी गाउँपालिकास्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सरुमारानी – २ मैदान प्युठानमा रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । खानेपानी तथा सरसफाई मन्त्री मणिचन्द्र थापाले बिहिबार प्रतियोगिताको उद्धघाटन गर्नुभयो । सो अबसरमा उहाले राष्ट्रलाई एकजुट बनाउने एक मात्र सशक्त माध्यम खेलकुद भएको बताउनुभएको छ ।
बिभाजित भैरहने राजनीती र अरु क्षेत्रलाई खेलकुदले राष्ट्रिय अनुशासन र सभ्यताको महत्वपुर्ण सन्देश दिने बताउनुभयो ।

उद्धघाटन समारोहमा लुम्बिनी प्रदेश सभा सदस्य हरि प्रसाद रिजाल सहित जिल्ला स्थित सरकारी अधिकारीहरुको उपस्थिती रहेको थियो । प्रतियोगितामा पालिकाभित्रका सामुदायिक २३ वटा विद्यालयका खेलाडीहरुको सहभागिता छ । सहभागि सबै बिद्यार्थीले शिल्ड,मेडल र प्रमाणपत्र पाउनेछन् भने उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरमा सहभागी गराइने र त्यसपछि प्रदेशमा सहभागिता पाउने पालिका स्तरियखेलकुद बिकास समितीका संयोजक भरत एमसीले बताउनुभयो ।

प्रतियोगितामा भलिवल, हाईजम्प, लङजम्प, त्रिपलजम्प, दौड, ज्याभ्लिन थ्रो लगायतका खेल हुँदैछन् । प्रतियोगिता शनिबारसम्म चल्ने आयोजकले जनाएको छ ।

तपाईंको प्रतिक्रिया