तुलसीपुरमा ७ हजार बढिलाई कोरोना खोप दिईने

 फागुन २२, २०७७

तुलसीपुर ।

दाङ सहित देशभर भोलीदेखि कोरोना भाईरस विरुद्धको खोप दिन लागीएको छ । सरकारले तेस्रो प्राथमिकताको आधारमा ६५ वर्ष उमेर माथीका जेष्ठ नागरिकलाई खोप दिन लागेको हो । सोहि अनुरुप जिल्लामा भोली देखी सम्वन्धित पालिकाको स्वास्थ्य चौकीबाटै खोप सेवा दिने स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्योती ओलीले जानकारी दिनु भएको छ । चिस्यान भण्डारणको समस्याका कारण भ्याक्सिन पहिले नै वितरण गर्न नसकीएको उहाको भनाई छ । यस अघि सरकारले ५५ वर्ष माथीका जेष्यठ नागरिक र शिक्षक कर्मचारीलाई कोरोना विरुद्धको खोप दिने भनेता पनि अहिले खोप आउन ढिलाई भएकाले निर्णय परिवर्तन गरिएको हो । तर खोप आउन बित्तिकै अन्य नागरिकलाई पनि खोप सेवा दिईनेछ ।

यता तुलसीपुरमा भने ६५ बर्ष माथिका ६ हजार ८ सय ६२ जना जेष्ठ नागरिक रहेको जनस्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिनु भएको छ । उहाले जेष्ठ नागरिक संगै यस अघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेवीका, सुरक्षाकर्मी गरेर २ सय ४८ जना गरी जम्मा ७ हजार १ सय १० जनालाई कोरोना विरुद्धको खोप दिने लक्ष्य रहेको जानकारी दिनुभयो ।

तुलसीपुर क्षेत्रका ८ वटा स्वास्थ्य चौकी, ११ वटा नगर स्वास्थ्य केन्द्र, राप्ती प्रादेशिक अस्पताल, राप्ती लाईफ केयर हस्पिटल तथा तुलसी हस्पिटलबाट पनि यस पटक खोप दिने तयारी गरीएको छ । उहाका अनुसार सरकारी तथा निजि अस्पताल गरी दैनिक १५ स्थानबाट खोप सेवा प्रदान गर्ने गरी सम्पुर्ण तयारी र व्यवस्थापन भईरहेको जनस्वास्थ्य निरीक्षक केसीले जानकारी दिनु भएको छ ।

तपाईंको प्रतिक्रिया