म्यानमारमा एकैदिन ३८ प्रदर्शनकारी मारिए

 चैत ०२, २०७७

काठमाडौं ।

म्यानमारमा सेनाविरुद्धको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागी ३८ प्रदर्शनकारीको मृत्यु भएको छ । म्यानमारमा सेनाले कू गरेपछि आइतबार एकैदिन सबैभन्दा धेरै प्रदर्शनकारीको मृत्यु भएको हो । आइतबार प्रदर्शनकारीहरुले चिनियाँ व्यवसायमा पनि आक्रमण गरेका थिए ।

चिनियाँ लगानीको व्यवसायमा आक्रमण गरेसँगै केही स्थानमा सैन्य कानुन लागू भएको घोषणा गरिएको थियो । चीनले म्यानमारको सेनालाई साथ दिएको भन्दै म्यानमारका प्रदर्शनकारी चीनप्रति आक्रामक देखिएका हुन् । म्यानमार फेब्रुअरी १ देखि सेनाले प्रजातन्त्र पक्षधर नेताहरुलाई हिरासतमा लिँदै सत्ता आफ्नो हातमा लिएको थियो । सेनाले गत नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै सत्ता आफ्नो हातमा लिएको थियो ।

यद्यपि गत नोभेम्बरको निर्वाचनमा चुनिएका प्रतिनिधिहरुले भने म्यानमारमा सेनाको शासन अस्वीकार गर्दै मानिसहरुलाई सेनाबाट आफ्नो सुरक्षा आफैं गर्न आग्रह गरेका छन् । आइतबार भएको आन्दोलनको क्रममा यान्गोन सहरमा मात्र २१ प्रदर्शनकारीको प्रहरीको गोली लागी मृत्यु भएको थियो । एसिस्टेन्ट एसोसिएसन फर पोलिटिकल पि्रजनर्स -एएपीपी)ले आइतबार कम्तीमा ३८ प्रदर्शनकारीको मृत्यु भएको र अन्य धेरै प्रदर्शनकारीहरु घाइते भएको बताएको छ ।

स्वास्थ्यकर्मीहरुले दिएको जानकारीअनुसार यान्गोनको हलियाङ थार्यार क्षेत्रमा धेरै मानिसको मृत्यु भएको थियो र यहाँ धेरै मानिसहरु प्रहरीको गोली लागी घाइते भएका छन् ।

तपाईंको प्रतिक्रिया