भारतले कोरोना भ्याक्सिन निर्यात रोक्यो

 चैत १२, २०७७

भारतले कोरोना भ्याक्सिन निर्यात रोकेको छ । अक्फोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोभिशील्ड भ्याक्सिन निर्यातमा रोक लगाएको हो । विदेश मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेअनुसार भारतमै कोरोना संक्रमित संख्या बढिरहेकाले तत्काललाई भ्याक्सिन निर्यात रोकिएको हो । भारतमा कोरोनाको नयाँ लहर शुरू भएको छ, जहाँ दिनहुँ ५० हजार हाराहारीमा संक्रमित भेटिइरहेका छन् ।

अहिले भारतभर कोरोना विरुद्धको भ्याक्सिन माग भइरहेको छ । त्यसैले अब अप्रिल महिनाको अन्त्यसम्म नै भारतले अन्य देशमा भ्याक्सिन पठाउने छैन । भारतले निर्यात रोक्दा कोभ्याक्स योजनाअन्तर्गत खोप प्राप्त गर्ने १९० देशमा असर पर्नेछ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नेतृत्वमा कोभ्याक्सअन्तर्गत सबै देशमा भ्याक्सिन उपलब्धता सुनिश्चित गर्ने लक्ष्य छ ।

भारतले अहिलेसम्म ७६ देशमा करिब ६ करोड डोज भ्याक्सिन पठाइसकेको छ । भारतमा बुधबार करिब ४७ हजार नयाँ संक्रमित थपिएका थिए भने २७५ जना संक्रमितको ज्यान गएको थियो । सन् २०२१ मा एकै दिनभित्र फेला परेका संक्रमित र भएको मानवीय हताहती अहिलेसम्म नै धेरै हो ।

तपाईंको प्रतिक्रिया