खनाल–नेपाल पक्षले समानान्तर गतिविधि थप शसक्त पार्ने

 चैत २०, २०७७

काठमाडाैं ।

नेकपा एमाले (झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष)ले संगठन विस्तारलगायत समानान्तर गतिविधिलाई देशव्यापी रूपमा लैजाने निर्णय गरेको छ । चैत ४ र ५ गते काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलामा आएका सुझावका आधारमा राजनीतिक प्रतिवेदन तयार गरेर कमिटी तहमा बहसमा लैजाने निर्णय उक्त पक्षले गरेको हो ।

काठमाडौंको कलंकीस्थित एक पार्टी प्यालेसमा शुक्रवार बसेको खनाल–नेपाल पक्षका स्थायी कमिटी सदस्यको बैठकले राष्ट्रिय भेलाको निष्कर्ष अनुसार संगठन विस्तार र राजनीतिक अभियानलाई देशव्यापी लैजाने निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिए ।

‘राष्ट्रिय भेलामा प्रस्तुत अवधारणा पत्रमा आएका सुझाव समेटेको प्रतिवेदनमा छलफल गर्‍यौं । भोलि बस्ने बैठकबाट अन्तिम रूपमा दिएपछि प्रकाशन गरेर पार्टीव्यापी रूपमा वितरण गर्ने निर्णय भएको छ,’ खनाल–नेपाल पक्षको प्रचार विभागका प्रमुख समेत रहेका भट्टराईले भने, ‘राष्ट्रिय भेलाको निष्कर्षअनुसार नेकपा एमालेको संगठन विस्तार र अभियानलाई राष्ट्रव्यापी रूपमा लैजाने निर्णय भएको छ ।’

राष्ट्रव्यापी अभियानको ढाँचाबारे आज प्रस्ताव भएको र भोलि अन्तिम रूप दिइने उनले बताए । संगठन निर्माण, प्रशिक्षण, भेला र विशेष कार्यक्रमको स्वरूपलाई भोलि नै अन्तिम रूप दिएर पार्टीव्यापी रूपमा सर्कुलर पठाउने निर्णय खनाल–नेपाल पक्षले गरेको छ ।

तपाईंको प्रतिक्रिया