नवनियुक्त १ सय १३ प्रहरी निरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

 चैत २०, २०७७

काठमाडौ । खुला प्रतियोगिताबाट जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका १ सय १३ जना प्रहरी निरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा र प्रहरी अतिरिक्त महानिरीक्षकले प्रहरी प्रधान कार्यालयमा शुक्रबार एक कार्यक्रमका विच उनिहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

साथै प्रहरी महानिरीक्षक थापाले प्रतियोगिताबाट नवनियुक्त भएका खुलातर्फका ३६ जना प्रहरी निरीक्षकलाई नियुक्तिपत्र समेत प्रदान गरेका छन् । २०७६ माघ १ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०७७ चैत ८ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ १ सय १३ जना र खुलातर्फ ३६ जना गरी कुल १ सय ४९ जना प्रहरी निरीक्षक उत्तीर्ण भएका थिए । जसमा १४ जना महिला रहेका छन् ।

नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०७७ चैत १७ गतेको निर्णयले चैत १८ गतेदेखि लागू हुने गरी उनिहरु प्रहरी निरीक्षक पदमा नियुक्त भएका हुन् । दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले प्रहरी पेसा सामाजिक पेसा भएकोले गर्व गर्न अनुरोध गर्दै संगठनको चरित्र र त्यस अनुरुप बहन गर्नुपर्ने जिम्मेवारीप्रति सजग भई मानवोचित व्यवहार र कर्मका साथ संगठनमा प्रवेश गर्न निर्देशन दिए ।

तपाईंको प्रतिक्रिया