कोरोना संक्रमण बढेपछि दिल्लीमा कडा प्रतिबन्ध

 चैत २९, २०७७

काठमाडौं ।

कोरोना संक्रमणदर निकै वढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा कडा प्रतिबन्धहरु घोषणा गरिएको छ । दिल्ली सरकारले शनिबार बेलुकी संक्रमण रोकथामका लागि निकै कडा फैसला कार्यान्वयनमा ल्याएको भारतीय मिडियाहरूले बताएका छन् ।

स्थानीय प्रशासनले सामाजिक, राजनीतिक, खेल र मनोरञ्जनसँग जोडिएका सबै प्रकारका गतिविधि गर्न रोक लगाएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदमा हिस्सा लिने खेलाडी बाहेक अरूलाई स्वीमिङ पूलहरु प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । दिल्ली विपद् प्रबन्धन प्राधिकरणको आदेशानुसार अब विवाहमा ५० र अन्तिम संस्कारमा २० जनाभन्दा धेरै मानिस सहभागी हुन पाउने छैनन् ।

रेस्टूराँ र बार सञ्चालकहरूले कूल क्षमताभन्दा ५० प्रतिशत कम ग्राहकलाई मात्र प्रत्यक्ष सेवा दिन पाउनेछन्। दिल्लीका सबै कलेज र कोचिङ संस्थाहरू बन्द गराइएको छ । सार्वजनिक सवारीसाधनहरूमा ५० प्रतिशत सिटमा मात्रै यात्रु राख्न थालिएको छ ।

कोरोनाबाट अतिप्रभावित महाराष्ट्रबाट दिल्ली आउने यात्रीहरूले आफू संक्रमित नरहेको प्रमाणस्वरूप आरडीटी–पीसीआर परीक्षण रिपोर्ट देखाउनुपर्ने नियम लगाइएको छ।

तपाईंको प्रतिक्रिया