मूल्यवृद्धिमा सुधार, वैदेशिक लगानी र विदेशी मुद्राको सञ्चिति घट्यो

 चैत ३१, २०७७

काठमाडौं ।

चालु आर्थिक वर्षको ८ महिनामा अर्थतन्त्रका केही सूचक सकारात्मक देखिएका छन् भने केहीमा कमजोर देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको २०७७ साउनदेखि फागुनसम्मको आर्थिक स्थितिको अध्ययन प्रतिवेदनअनुसार मूल्यवृद्धि घट्नु र रेमिट्यान्स बढ्नु सकारात्मक तथा प्रत्यक्ष वैदेशिक लगानी र विदेशी मुद्राको सञ्चिति घटेको छ ।

२०७७ फागुनसम्ममा नेपालमा विदेशी विनिमय सञ्चिति १४ खर्ब ३६ अर्ब रुपैयाँ छ । यो रकम ११ महिनाको वस्तु तथा सेवा खरिदका लागि पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । फागुन मशान्तमा शाेधनान्तर स्थिति ६८ अर्बले बचतमा छ ।

मूल्यवृद्धिमा गिरावट

राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार २०७७ को महिनामा मूल्यवृद्धि घटेको छ । उपभोक्ता मूल्यवृद्धि ३.०२ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको यसै अवधिमा ६.७० प्रतिशत थियो । राष्ट्र बैंकका अनुसार यस अवधिमा खाद्य तथा पेय पदार्थमा ३.८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहमा २.४१ प्रतिशत मूल्यवृद्धि भएको छ ।

२०७६ फागुनको तुलनामा २०७७ फागुनमा घ्यू तथा तेल १९.९७, फलफूल १३.६७, सुर्तीजन्य वस्तु १०.४१ र दाल तथा गेडागुडी १०.१७ प्रतिशतले महंगो भएको छ ।

पहाडमा भन्दा तराईमा महंगी बढी देखिएको छ । फागुन महिनामा काठमाडौं उपत्यकामा २.५० प्रतिशत, तराईमा ३.२५ प्रतिशत, पहाडमा ३.४० प्रतिशत र हिमालमा १.१४ प्रतिशतले मूल्यवृद्धि बढेको छ । २०७६ फागुनमा काठमाडौंमा ७.६१, तराईमा ६.८४, पहाडमा ५.५३ र हिमालमा ५.४२ प्रतिशत मूल्यवृद्धि थियो ।

वैदेशिक लगानीमा गिरावट

राष्ट्र बैंकको अध्ययन अनुसार चालु आर्थिक वर्षको ८ महिनामा प्रत्यक्ष वैदेशिक लगानी करिब ३५ प्रतिशतले घटेको छ । २०७७ साउनदेखि फागुनसम्म १० अर्ब १८ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

यो ८ महिनामा चालु खाता १ खर्ब ४८ अर्ब ६८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष यस्तो घाटा १ खर्ब १९ अर्ब ७० करोड घाटामा थियो । गत साउनदेखि नै बचतमा गएको चालु खाता कात्तिक मसान्तसम्ममा पनि बचतमै थियो । मंसिर मसान्तमा चालु खाता पुनः घाटामा गएको थियो ।

देशभित्र आउने कुल विदेशी मुद्रा र बाहिरिने मुद्राबीचको अन्तर चालु खाता घाटा हो । विदेशी मुद्रा धेरै भित्रने र कम बाहिरिने भयो भने चालु आता वचतमा रहन्छ, तर विदेशी मुद्रा धेरै बाहिरिने र कम भित्रिने भएमा बढ्छ ।

निर्यात, प्रत्यक्ष वैदेशिक लगानी, रेमिट्यान्स, पर्यटन आदि क्षेत्र विदेशी मुद्रा भित्रिने माध्यम हुन् । त्यस्तै पेट्रोलियम पदार्थ, यातायातका साधन, औद्योगिक सामग्री आदिको आयातबाट विदेशी मुद्रा बाहिरिएको हुन्छ ।

पुँजीबजारमा सुधार

चालु आर्थिक वर्षको ८ महिनामा अर्थतन्त्रको ऐना मानिने पुँजी बजारमा भने सुधार देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर बजारमा भएको लगानीकर्ताको पुँजी यस अवधीमा वृद्धि भएको छ ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार २०७६ फागुन मसान्तमा १३७७.२ रहेको नेप्से परिसूचक २०७७ फागुन मसान्तमा २४५८.५ विन्दुमा पुगेको छ । २०७७ असार मसान्तमा भने परिसूचक १३६२.४ रहेको थियो । २०७७ असारमा १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको लगानीकर्ताको पुँजी बढेर फागुनसम्ममा ३३ खर्ब ८७ अर्ब ३४ करोड पुगेको छ ।

२०७७ फागुनमा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीको संख्या २१७ रहेको छ । जसमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी, ३७ जलविद्युत कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४ होटल, ४ ब्यापारिक संस्था र ८ अन्य समूहका रहेका छन् ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६९.६ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ६.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.८ प्रतिशत, होटलको हिस्सा ०.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १८.४ प्रतिशत रहेको छ ।

सुधारिएन वैदेशिक रोजगारी

गत साउनयता वैदेशिक रोजगारीमा जानेको संख्या भने ७५ प्रतिशतले घटेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७४.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.२ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स आप्रवाह भने ८.६ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको ८ महिनामा ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्ष यस अवधिमा रेमिट्यान्स आप्रवाह १.५ प्रतिशतले बढेको थियो ।

कृषिमा बैंकको लगानी बढ्दै

राष्ट्र बैंकका अनुसार २०७७ साउनदेखि फागुनसम्म कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी २८.८ प्रतिशतले बढेको छ । कृषि क्षेत्रमा लगानी अत्यन्तै कम भएपछि राष्ट्र बैंकले केही वर्ष अघिदेखि न्युनतम सीमा नै तोकिदिएर कृषिमा लगानी गर्नैपर्ने बाध्यकारी व्यवस्था गरेको छ । जसको सकारात्मक असर, अहिले कृषि क्षेत्रमा बैंकको लगानी बढ्दै गएको देखिएको छ ।

औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १३.२ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १०.८ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १४.९ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १५.२ प्रतिशतले बढेको छ ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १७.४ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १९.१ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा १७.३ प्रतिशतले बढेको छ । त्यस्तै रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ७.३ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा ६१.५ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ३०.३ प्रतिशतले बढेको छ । हायर पर्चेज कर्जा भने ४.६ प्रतिशतले घटेको छ ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रले लिएको कर्जा १७.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.१ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १९.४ प्रतिशतले बढेको छ ।

यस अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १७.३ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २१.८ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.१ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थामा निक्षेप पनि यस अवधिमा ११.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ८.० प्रतिशतले बढेको थियो ।

२०७७ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४२.१ प्रतिशत रहेको छ । २०७६ फागुन मसान्तमा यस्तो निक्षेपको अंश ४४.९ प्रतिशत रहेको थियो ।

तपाईंको प्रतिक्रिया