भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६१ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिए

 चैत ३१, २०७७

काठमाडौं ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का १ लाख ६१ हजार ७३६ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उक्त अवधिमा थप ८७९ संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोना संक्रमितको संख्या एक करोड ३६ लाख ८९ हजार नाघेको छ । कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि एक लाख ७१ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा महाराष्ट्रमा सबैभन्दा धेरै ५१ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । उत्तर प्रदेश र छत्तीसगढमा सो अवधिमा १३ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । त्यस्तै कर्नाटकमा पनि नौ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

मंगलबार अघिल्लो दिनको तुलनामा नयाँ संक्रमितको संख्यामा केही कमी देखिएको हो । यद्यपि, केही स्थानमा गरिएको परीक्षणको नतिजा आउनमा ढिलाइ भएको अधिकारीहरुले बताएका छन् ।

पछिल्लो केही समययता भारतका अधिकांश राज्यमा कोरोना संक्रमण निरन्तर बढ्दो क्रममा देखिएको छ । सरकारले स्वास्थ्य मापदण्ड पालना नभएको र चाडपर्व तथा निर्वाचनको प्रचारको क्रममा हुने भेलाले कोरोना संक्रमण बढाएको विशेषज्ञहरुले बताएका छन् ।

तपाईंको प्रतिक्रिया