जीप दुर्घटनाका घाइतेलाई हेलिकप्टरमा काठमाडौं लगियो

 बैशाख ०१, २०७८

प्युठान ।

प्युठानको स्वर्गद्वारी नजिकै भएको जीप दुर्घटनामा घाइते भएका ६ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । नयाँ वर्षको अवसरमा धार्मिक तीर्थस्थल प्यूठानको स्वर्गद्वारी जाने क्रममा बुधबार बिहान प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु १ ज १६५५ नम्बरको जीप दुर्घटना भएको थियो।

दुर्घटनामा जीप चालक गुल्मीको मुसिकोट नगरपालिका–३ का २२ वर्षीय केशव कार्की, जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्याङ्जाका ३८ वर्षका श्याम न्यौपाने, कम्प्युटर अपरेटर रेसुङ्गा नगरपालिका–७ का ३५ वर्षीय सूर्य पन्थी, मुद्दा शाखाका धुर्कोट–७ का ३६ वर्षीय ईश्वर भण्डारी र २७ वर्षीय यमलाल पन्थी गरी ५ जनाको मृत्यु भएको छ।

गम्भीर घाइते भएका सन्दीप परियार, मुना पाण्डे, कमला पन्थी, सार्थक ज्ञवाली, गीता मुखिया र अनिश बोहरालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जीपमा सवार १७ मध्ये १२ जना घाइते भएका छन्। अन्य घाइतेको प्यूठानको भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

तपाईंको प्रतिक्रिया