कोरोना देखिए के गर्ने,डा. पाण्डे यसो भन्नुहुन्छ

 बैशाख १६, २०७८

यसपटकको नयाँ प्रजातिको महामारी गतसालको जस्तो सामान्य छैन । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुनेमध्ये केही लक्षण मिलेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला ।

यसपटक परिवारमा एकजना संक्रमित भएमा सबै संक्रमित हुने अवस्था छ । तसर्थ कुनै लक्षण देखिएमा आइसोलेसनमा बस्नुहोला । संक्रमणको शंका लागेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला । सहेर वा हेरौं भनेर अलमल नगर्नुहोला । जति छिटो रोग पत्ता लाग्यो, त्यति छिटो उपचार पाउने अवस्था हुन्छ ।

  • पिसिआर पोजिटिभ आएमा गतसाल जस्तो सप्लिमेन्ट ( भिटामिन वा इम्युन बुस्टर ) खाएर ढुक्क नहुनुहोला । यसपटक छिटो कोभिड निमोनिया हुने भएकाले तुरुन्तै नजिकको कोभिड अस्पतालको फिभर क्लिनिकमा जानुहोला । त्यहाँ चिकित्सकले तपाईंलाई परीक्षण गरेर आवश्यकताअनुसार छातीको एक्स रे, रगतको जाँच तथा सिटी स्क्यान गर्ने सल्लाह दिनुहुन्छ । यदि तपाईंको अवस्था खराब छ भने उहाँहरूले औषधि वा भर्नाको लागि सल्लाह दिनुहुनेछ । उहाँहरूको सल्लाह अक्षरसः पालना गर्नुहोला ।
  • लामो समय ज्वरो आयो, खोकी लाग्यो, सास फेर्न गाह्रो भयो, खाना खान गाह्रो भयो वा अक्सिजनको स्तर ९४ भन्दा तल भइरह्यो भने घरमा नबस्नुहोला । यो अवस्थामा तपाईंलाई छातीमा संक्रमण भएको बुझ्न सकिन्छ । जति छिटो अस्पताल पुग्यो त्यति छिटो भर्ना हुन नपर्ने एवं सजिलोसँग निको हुने अवस्था हुन्छ ।
  • गतसाल संक्रमण भएका वा यो साल खोप लगाएका व्यक्तिलाई संक्रमण हुनसक्छ । प्रजाति फरक भएकाले गाह्रो हुन सक्छ । मैले खोप लगाएको छु वा पोहोरको एन्टिबोडीले काम गर्छ भनेर लापरबाही नगर्नुहोला । अप्ठ्यारो भए तुरुन्त अस्पताल जानुहोला ।
  • बालबालिका तथा युवालाई केही हुँदैन भनेर घरमा नबस्नुहोला । यसपटक बालबालिका र युवाको संक्रमणदर, गम्भीर हुने दर तथा मृत्युदर गतसालको भन्दा धेरै छ ।
  • अस्पताल जाने बेलासम्म घोप्टो परेर सुत्नु भयो भने अक्सिजनको स्तर केही बढ्दछ । तसर्थ पेटको बलमा घोप्टो परेर सुत्नुहोला ।
  • अस्पताल प्याक छन् भनेर नआत्तिनुहोला । अस्पताल जाँदैमा सबै भर्ना हुनु पर्दैन । प्याक भएका अस्पतालले अस्पताल बाहिर समेत अक्सिजन दिएर उपचार गरिरहेका छन् ।
  • चिकित्सकको सल्लाहबिना आफैँ अक्सिजन लगाएर घरमा नबस्नुहोला । अक्सिजन उपचार होइन । निमोनिया वा अन्य छातीको संक्रमणको औषधि चलाउँदै अक्सिजन लगाउनुपर्छ । अक्सिजनको मात्रा चिकित्सकको सल्लाहअनुसार मात्र थपघट गर्नुपर्छ ।
  • औषधि उपचार प्रत्येक व्यक्तिको फरक हुनसक्छ । एकजनालाई निको भएको औषधिले अर्को व्यक्तिलाई निको नहुन सक्छ । तसर्थ स्वास्थ्यकर्मीबाहेकका व्यक्तिले सिफारिस गरेको औषधि सेवन नगर्नुहोला । कुनै पनि औषधिले कोरोना च्वाट्ट निको हुने वा लाग्न नदिने कुरा गर्छ भने त्यो गलत हो ।
  • प्रतिरोध क्षमता बढाउनको लागि जथाभावी आयुर्वेद औषधि नखानुहोला । सम्बन्धित चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारसअनुसार मात्र आयुर्वेद औषधि सेवन गर्नुहोला । आयुर्वेद औषधिले कोभिड निको हुँदैन । तपाईंको स्टामिना बढाउँछ । यस्तो बेला सबै चिकित्सा पद्धतिको एकीकृत उपचार प्रभावकारी हुन्छ ।
  • यसपटकको संक्रमणले निकै छिटो फोक्सोमा असर गर्ने किसिमको छ । ४-६ घण्टामा निकै बढी असर गर्न सक्छ । तसर्थ भोलि अस्पताल जाउँला भनेर नबस्नुहोला । निको भएका संक्रमितका कुरा सुन्नुहोला ।
  • कुनैपनि चिकित्सकले औषधि चलाएको बेला पनि भित्रभित्रै असर हुनसक्छ । यो भाइरल संक्रमण भएको हुँदा एन्टिबायोटिकको भर पर्नु हुँदैन । यस्तो अवस्थामा एकपटक छातीको एक्स रे वा सिटी स्क्यान गर्नु सुरक्षित हुन्छ ।
  • अस्पतालमा गम्भीर बिरामीप्रति चिकित्सकको ध्यान बढी हुन्छ । तसर्थ नआत्तिनुहोला ।
  • उपचारपश्चात् पिसिआर नेगेटिभ आएपनि कोभिडले तपाईंका विभिन्न अंगमा असर गरेको हुनसक्छ । चिकित्सकको सल्लाहअनुसार यसको पनि उपचार गरेर स्वास्थ्यलाभ गर्नुपर्ने हुन्छ । मकालु खवरबाट साभार

तपाईंको प्रतिक्रिया