दिल्लीमा लकडाउनको अवधि थप

 बैशाख १८, २०७८

भारतको नयाँ दिल्लीमा कोरोना संक्रमण नरोकिएको भन्दै लकडाउनको अवधि थप गरिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार साँझ यसको घोषणा गरेका हुन् । यसअघि ३ मेको बिहान ५ बजेसम्मका लागि लकडाउन लागू गरिएको थियो । यसलाई बढाएर १० मे बिहान ५ बजेसम्मका लाथि थप गरिएको छ ।

पछिल्ला १५ दिनदेखि दिल्लीमा २० हजारभन्दा बढी संक्रमित फेला परिरहेका छन् । अन्तिमपटक १६ अप्रिलमा २० हजारभन्दा कम संक्रमित फेला परेका थिए । शुक्रबार नयाँ संक्रमितको संख्या २७ हजार ४७ रहेको थियो । त्यही अवधिमा थप ३७५ जनाले ज्यान गुमाएका थिए ।

यही अवधिमा थप २५ हजार २८८ जना निको पनि भएका छन् । दिल्लीमा हालसम्म ११ लाख ४९ हजार जना संक्रमित भएका छन् भने १० लाख ३३ हजार निको पनि भएका छन् । हालसम्म १६ हजार १४७ जनाले ज्यान गुमाइसकेका छन् भने ९९ हजार ३६१ को उपचार भइरहेको छ ।

तपाईंको प्रतिक्रिया