तीन बालक मृत्यु प्रकरण: अभिभावकले अझै शव बुझेनन्

 बैशाख २३, २०७८

तस्बीर पोष्टमार्टम हुदैगर्दा आफन्त

तुलसीपुर ।

तुलसीपुर उपमहानगरपालिका–६ को स्याउलीबजारमा रोकिराखेको कारमा मृत भेटिएका बालकका अभिभावकले अझै शव बुझेका छैनन् । घटनामा संलग्नलाई पक्राउ गरी सार्वजनिक नगर्दासम्म शव नउठाउने बालकका अभिभावकले बताएका छन् ।

उनीहरुले बुधबार उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई भेट गरी ध्यानाकर्षणसमेत गराएका छन् । सो अवसरमा नगरप्रमुख पाण्डेले अनुसन्धानमा सहयोग गर्न पीडित परिवारलाई आग्रह गरेका छन् । नगरप्रमुख पाण्डेले अपराधपूर्ण कार्य भए कारवाही गर्नुपर्ने जनाउँदै त्यसका लागि पीडित परिवारले अनुसन्धानका लागि थप प्रमाण जुटाउनका लागि सहयोग गर्नुपर्ने बताए । घटनालाई निष्पक्ष तवरले अनुसन्धान गर्न तुलसीपुर प्रहरीलाई निर्देशन दिइएको उल्लेख गर्दै नगरप्रमुख पाण्डेले भिसेरा रिपोर्टपछि घटनाको वास्तविकता खुल्ने जनाएका थिए ।

त्यसैगरी उनले पीडित परिवारलाई प्रतिव्यक्ति २५ हजार रुपैयाँका दरले उपमहानगरपालिकाले सहयोगस्वरुप किरीया खर्च उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा विप्लव निकट दलित मुक्ति मोर्चाका अध्यक्ष सुरज परियारले यो घटना हत्या नै भएको बताएका थिए ।

सो घटनाको अनुसन्धान गर्न बाँकेबाट तालिमप्राप्त कुकुरसहित विशेषज्ञको टोली आएको थियो । शव परीक्षणका लागि बुटवलबाट विशेषज्ञ चिकित्सक बोलाइएको थियो । परीक्षण रिपोर्टमा चिकित्सकले शव सडेगलेको हुँदा विषादी सेवन वा अन्य यस्तै कारणले मृत्यु भएको हो या होइन भनी अनुसन्धान गर्न समस्या भएकाले भिसेरा परीक्षणका लागि काठमाडौं पठाइसकेको तुलसीपुर इलाका प्रहरी कार्यालय प्रमुख शिवबहादुर सिंहले जानकारी दिएका छन ।

पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आरजे ०१ सिसी ०८८५ नम्बरको कारभित्र उनीहरू मृत अवस्थामा फेला परेका थिए । यहि बैशाख १६ गतेदेखी बेपत्ता भएका तुलसीपुर ६ बरुवागाउँ बस्ने भिम बहादुर परियारका ९ बर्षका छोरा सन्दिप परियार, सोही ठाउँका सन्तोष परियारका ७ बर्षका छोरा सुवर्ण परियार र किरण परियारका ६ बर्षका छोरा करण परियार पार्किङ गरि राखेको आरजे ०१ सिसी ०८८५ नम्वरको भारतीय गाडी भित्र शनिवार साँझ मृत भेटिएका थिए ।

कारधनी यादव प्रसाद गैरे र चालक पदमबहादुर बस्नेतमाथि मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाईंको प्रतिक्रिया