जनकपुर–जयनगर रेल प्रभावित

 बैशाख ३१, २०७८

धनुषा ।

जनकपुर(जयनगर रेल सेवा सञ्चालनको मिति तोकिँदै सारिँदै आएर यसपटक भनिएको वैशाखभित्र पनि कोरोनाका कारण प्रभावित हुने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल रेल्वे कम्पनीले वैशाख महिनाभित्रै सञ्चालनको तयारी गरे पनि धनुषा, महोत्तरीसहित विभिन्न स्थानमा गरिएको निषेधाज्ञा तथा नेपाल र भारतको सीमा पनि सिल गरिएकोले तत्काल रेल सञ्चालन स्थगित गरिएको बताए ।

हालै रेल्वे सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी भइसकेको छ । रेल्वे सञ्चालन गर्न नेपाली कर्मचारीलाई भारतीयले दश दिनसम्म प्रशिक्षण दिएका थिए । कोरोनाको बढ्दो कहर र निषेधाज्ञाका कारण ती भारतीय कर्मचारी तत्कालको लागि घर फर्केका छन्। महाप्रबन्धक भट्टराईले भने, ‘यस पटक रेल्वे सञ्चालनको अन्तिम तयारीमा थियौं, तर समयले धोका दियो।’ उनले अवस्था सामान्य बनेपछि रेल सञ्चालन गरिने बताए।

नेपाल सरकारले भारतबाट २०७७ असोज ७ मा दुई रेल ल्याएको थियो । रेल आएको दिन जनकपुरधामसम्म परीक्षणस्वरुप चलाएर ल्याए पनि ७ महिनादेखि धनुषाको खजुरीको स्टेसनमा दुवै रेल सशस्त्र प्रहरीको सुरक्षामा त्रिपालले छोपेर राखिएको छ।

तपाईंको प्रतिक्रिया