एनएसएल फाइनल आज

 जेठ ०१, २०७८

काठमाडौं ।

पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) ले शनिवार आफ्नो पहिलो च्याम्पियन पाउँदैछ । त्यसका लागि धनगढी एफसी र काठमाडौं रेजर्स एफसी तयार छन् र शनिवार फाइनल खेल हुँदैछ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा आयोजना गरेको प्रतियोगितामा ७ टिमले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

२१ दिन र २४ खेलपछि फाइनल पुग्ने दुई टोली धनगढी र काठमाडौं उपाधिका लागि तयार छन् ।फाइनल अघि नै यी दुई टोली एकआपसमा दुई पटक खेलिसकेमा छन् र दुवैमा धनगढी विजयी भएको थियो । लिग चरणमा धनगढीले काठमाडौंलाई ३-० ले पराजित गरेको थियो । यस्तै पहिलो क्वालिफायरमा धनगढीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै काठमाडौंलाई २-१ ले हराएर फाइनलमा स्थान बनायो ।

काठमाडौंले भने फेरि अवसर पायो र दोस्रो क्वालिफायरमा ललितपुर सिटीलाई ३-० ले पराजित गर्दै पुन: धनगढीसंग उपाधि भेट पक्का गरेको हो । धनगढीसंग बेहोरेको दुई हारको बदला फाइनलमा लिने योजनामा काठमाडौं छ । उता धनगढी पनि यसअघिको लय कायम राख्दै उपाधि जित्ने लक्ष्यमा छ । नेपाल नम्बर वान गोलकिपर तथा कप्तान किरण चेम्जोङको कप्तानीमा धनगढी खेल्दैछ । उता नेपालको नम्बर दुई गोलकिपर विकेश कुथुको कप्तानीमा काठमाडौं खेल्दैछ ।

तपाईंको प्रतिक्रिया