विश्वभरिबाट नेपाली ‘गायक’को खोजी हुदै

 जेठ १६, २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ सुरू गर्ने भएको छ । प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने ‘सांगीतिक रियालिटी शो’ २१ जुन देखि शुरु हुने एनआरएनले जनाएका छ । विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ यो प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा नेपाल र सार्क राष्ट्रबाहेक सबै राष्ट्रमा छरिएर रहेका १५ वर्षभन्दा माथिका नेपाली भाषीले भाग लिन पाउनेछन् ।

यो प्रतियोगिताको संयोजन एनआरएनए आइसीसीको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले गर्नेछ । प्रतियोगिताको निर्णायक मन्डलमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्व अध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहेका छन् ।

उक्त प्रतियोगिताबारे जानकारी दिन आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछाने , एनआरएनए अध्यक्ष कुमार पन्तले भाषा, साहित्य र संस्कृति नै गैरआवासीय नेपालीहरुको मूल पहिचान भएकोले यो कार्यक्रम संघको प्राथमिकतामा रहेको बताए ।

त्यस्तै वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटाले आफुले जहिले पनि नेपाली सङ्गीतको अन्तर्राष्ट्रियकरण होस् भन्ने चाहेको र यो कार्यक्रमले अवश्य पनि नयाँ र राम्रा प्रतिभाहरूको पहिचान गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा निर्णयक मण्डलका सदस्य गायक शम्भु राई, गायिका शर्मिला बर्देवा, एनआरएनएका उपाध्यक्ष डा। बद्री केसी, महासचिव डा. हेमराज शर्मा, एनसीसी अमेरिकाका अध्यक्ष सुनिल शाह, एनसीसी युके अध्यक्ष पुनम गुरुङ तथा मिडिया कमिटिका सहसंयोजक चिरन्जीवि देवकोटाले पनि कार्यक्रममा शुभकामना दिएका थिए ।

कार्यक्रममा एनआरएनए द सिंगरको लोगो र जिङ्गल सार्वजनिक गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्कृति तथा सम्पदा उपसमितिका सदस्य सचिव खड्ग न्यौपाने र दिक्पाल पङ्गेनीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया