११ लाख यातायात मजदुर रोजगारविहीन

 जेठ २१, २०७८

काठमाडौँ ।
उदयपुरको रौतामाई गाउँपालिका – ७ स्थित मुर्कुचीका लोकनाथ काफ्लेलाई अहिले दैनिक गुजाराकै चिन्ता छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१४ स्थित नैकापमा कोठाभाडा लिएर बसिरहेका उनी ढल्कु–लगनखेल रुटमा मिनी बस चलाउँछन् ।

चालक र सहचालकको काम आफैं सम्हाल्छन् । तर अहिले निषेधाज्ञाले गाडी नचलेपछि उनको दैनिकी तनावमा बितिरहेको छ । आम्दानीको स्रोत बन्द छ । चार जनाको उनको परिवार गाडीबाट आउने आम्दानीले पालिएको थियो । गाडीको मासिक किस्ता ३० हजार रुपैयाँ बुझाउनैपर्छ । कोठाभाडा त झन् तिर्नै पाएका छैनन् । सहचालकदेखि चालकसम्म, स्वरोजगारदेखि व्यवसायी बनेका सबै अहिले बेरोजगार छन् । यस्तै समस्या खेप्नेमध्ये एक हुन्, धनगढी–काठमाडौं रात्रि बस चलाउने निर्मल मिश्र ।

उनले १६ वर्षसम्म अर्काको गाडीमा चालकका रूपमा काम गरे । ऋण गरेर गाडी किनेको एक वर्ष बल्ल कट्दै छ । अघिल्लो वर्षको लकडाउन सुरु हुनु एक साताअघि नयाँ गाडी लिएका उनले राम्रोसँग चलाउन नपाउँदै थन्क्याएर राख्नुपर्‍यो । ४० सिट क्षमताको एसी बस लामो समय राख्दा पुरानो भइसक्यो । अहिले गाडी धनगढीमै ग्यारेजमा थन्क्याएर राखेका छन् ।

अघिल्लो लकडाउनको तुलनामा यसपटक यातायात क्षेत्रमा जनशक्तिको क्षति धेरै भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई बताउँछन् । देशभर यातायात मजदुर ११ लाख छन् । र, यातायात व्यवसायी करिब ३ लाख रहेको उनले बताए । यातायात मजदुर र व्यवसायीबाट आश्रित परिवार करिब ४६ लाख रहेको उनको भनाइ छ । तर उनीहरूलाई सरकारले राहत प्याकेज नल्याएको राईले गुनासो गरे । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पनि सरकारले यातायात मजदुरको पीडा नसुनेको बताउँछन् ।

कान्तीपुरबाट साभार

तपाईंको प्रतिक्रिया