प्रशिक्षक अलमुताइरीले भने – ‘गोर्खाली पाराले खेल्यौं’

 जेठ २९, २०७८

काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नेपालको प्रदर्शनबाट खुशी रहेको प्रतिक्रिया दिएका छन् । विश्वकप २०२२ र एसिया कप २०२३ को दोस्रो चरणको छनोट अन्तर्गत नेपाल शुक्रबार अष्ट्रेलियासँग ३-० ले पराजित भए पनि खेल प्रशंसनीय रहेको अलमुताइरीले बताएका हुन् ।

नेपालले दोस्रो हाफ पूरा हुँदा १० खेलाडीमा समेटिएको थियो । पहिलो हाफमा नेपालले दुई गोल व्यहोरेको थियो भने दोस्रो हाफमा एक खेलाडी कम हुँदा नेपालले एक गोल मात्र व्यहोर्‍यो । प्रशिक्षक अलमुताइरीले नेपाली खेलाडीहरुले गोर्खाली शैलीमा खेलेको बताए । उनले १० वा ११ खेलाडी जति भएपनि खेलाडीको प्रदर्शनबाट सन्तुष्ट देखिएका छन् ।

‘नेपालीहरु विश्वमा गोर्खाली भनेर चिनिन्छन् । आज हाम्रो खेलाडीले गोर्खाली जसरी नै खेल्यौँ । १० खेलाडी होस् या ११, हामीले हरेक समय भिडेर खेल्यौं ।’ उनले भने । अलमुताइरीले मैदान उत्रेका सबै खेलाडीले मेहनत गरेर खेलेको बताए ।

फिफा वरीयतामा ४१ औ स्थानमा रहेको अष्ट्रेलिया नेपालभन्दा १३० स्थान माथि छ । नेपाल १७१औं स्थानमा छ । एसिया कप जितिसकेको अष्ट्रेलियाजस्तो बलियो टोलीविरुद्ध नेपाली खेलाडीले गरेको मेहनतको अलमुताइरीले प्रशंसा गरे ।

तपाईंको प्रतिक्रिया