राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकद्वारा राजीनामा दिने घोषणा

 साउन १०, २०७८

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् । प्रशिक्षक अब्दुल्लाहले अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको कारणले राजीनामा दिन लागेको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

‘प्रिय नेपाली समर्थकहरू… म वरिष्ठ उपाध्यक्षले पछिल्लो तीन हप्तादेखि गरिरहेको नाटकका कारण राजीनामा दिन गइरहेको छु’ उनले फेसबुकमा खेलेका छन्, ‘अब तपाईँ खुसी हुनु भयो होला नि पंकजविक्रम नेम्वाङ ? अब्दुल्लाह गत चैत २२ गते नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको रूपमा सार्वजनिक भएका थिए ।

नेपाली फुटबललाई नयाँ उचाईमा पुर्‍याउने अठोटका साथ मैदानमा ओर्लिएका अब्दुल्लाहले घरेलु मैदानमा थ्री नेसन्स कपको उपाधि जितेको टोलीमा १३ खेलाडी परिवर्तन गरेका थिए । उनको नेतृत्वमा नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो भने विश्वकप र एसिया कप छनोटका बाँकी तीन खेल खेलेको थियो । युवा खेलाडीलाई विशेष स्थान र महत्व दिएका अब्दुल्लाहले नेपाललाई एसिया कपसम्म पुर्‍याउने र साफ च्याम्पियन बनाउने प्रमुख लक्ष्य रहेको बताउँदै आएका थिए ।

तपाईंको प्रतिक्रिया