विरुवा रोप्ने किसानलाइ प्रोत्साहन रकम

 साउन १२, २०७८

दाङ । दाङको पहाडी भेगमा जडीबुटीका विरुवा रोपेका किसानहरुलाई आज मंगलबारदेखि प्रोत्साहन वापतको रकम वितरण सुरु गरिएको छ । डिभिजन वन कार्यालय दाङको सहयोग र सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दाङको आयोजनामा दाङका घोराही र बंगलाचुलीका करिव छ सय बढी किसानलाई प्रोत्साहन रकम वितरण गर्न सुरु गरिएको हो ।

सहकारी मार्फत पकेट क्षेत्रमा जडिबुटि बिस्तार कार्यक्रम अन्तर्गत बंगलाचुली र घोराहीका गरी ७ वटा वडाहरुमा ७० हजार बढी विरुवाहरु रोपिएको छ । घोराही उप–महानगरपालिकाको १८ र १९ तथा बंगलाचुली गाउँपालिकाका १ देखि ५ वटा वडामा टिमुर,मालागेडी र दालचिनिका विरुवाहरु रोपिएको छ । सर्वोत्तम बहुउद्धेश्यीय सहकारी संस्था लि. मार्फत किसानहरुलाई गाउँमै निशूल्क विरुवा उपलव्ध गराइएको र उनिहरुलाई प्रति विरुवा ३ रुपैयाँको दरले यो वर्ष प्रोत्साहन वापत दुई लाख दश हजार रुपैयाँ किसानलाई दिइने संस्थाका अध्यक्ष ध्रुबराज पौडेलले जानकारी दिनुभयो ।


प्रोत्साहन रकम वितरण कार्यक्रम अन्तर्गत आज घोराही उप–महानगरपालिका वडा नं.१९ का च्यानगैरा,राम्चे,तिर्साङ,लाकुरीडाँडा,पटिन्जा र बंगलाचुली गाउँपालीकाको वडा नं.२ का मर्पेस र खाडा गाउँमै पुगेर प्रोत्साहन वापतको रकम वितरण गरिएको कार्यक्रमका सुपरभाइजर बालचन्द्र शर्माले जानकारी दिनुभयो । विरुवा लगाउने किसानहरुलाई सबै वडाका गाउँमै पुगेर श्रावण १५ गतेसम्म प्रोत्साहन रकम वितरण गर्ने कार्यक्रम रहेको सुपरभाइजर शर्माले जानकारी दिनुभयो । रकम बुझ्ने किसानहरुले गाउँसम्मै निशूल्क रुपमा विरुवा उपलव्ध भएर प्रोत्साहन वापतको रकम पाएको जीवनमै पहिलो पटक भएको भन्दै खुसी व्यक्त गरेका थिए ।

जडीबुटी मार्फत स्थानीय किसानहरुको आयआर्जनमा सहयोग गर्ने उद्धेश्यले डिभिजन वन कार्यालय दाङले निशूल्क विरुवा ,प्रोत्साहन वापतको रकम र फिल्डमा प्राविधिक सहयोग समेत गरेको थियो । यस कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै आगामी वर्षमा समेत निरन्तरता दिई सम्भावित क्षेत्रमा उद्योग स्थापना गर्ने सम्मको आफूहरुको योजना रहेको डिभिजन वन कार्यालय दाङका प्रमुख विजयराज सुवेदीले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया