बाघ दिवस : सङ्ख्या बढेसँगै चुनौती थपिँदै

 साउन १४, २०७८

काठमाण्डाै । आज विश्व बाघ दिवस । ‘बाघको अस्तित्व : मानवको दायित्व’ भन्ने सन्देशका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइँदै छ । नेपालले सन् २०१० लाई आधार वर्ष मानेर सन् २०२२ सम्ममा बाघको सङ्ख्या १ सय २१ बाट बढाएर २ सय ५० पुर्याउने लक्ष्य राखेकोमा अहिले बाघको सङ्ख्या २ सय ३५ पुगिसकेको छ ।

संरक्षणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेकाले अर्को वर्षसम्ममा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता पूरा हुने निश्चित भएको छ । सन् २०११ मा रुसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । बाघको सङ्ख्या बढिरहँदा जोखिम पनि थपिएको छ ।

बर्दिया र चितवनमा बाघको आक्रमणबाट मान्छेको ज्यान जाने घटना बढिरहेको छ । बर्दियामा गएको आर्थिक वर्षमा मात्रै बाघको आक्रमणबाट १२ जनाको ज्यान गएको छ । यही महिनाको पहिलो हप्तामा पनि अर्का एक जनाको बाघको आक्रमणबाट ज्यान गएको छ ।

मान्छेलाई आक्रमण गर्ने चारवटा बाघलाई नियन्त्रणमा लिइएको बर्दिया निकुञ्जले जनाएको छ । सरकारले बाघलगायत अरू वन्यजन्तुको आक्रमणमा परेर घाइते भएका तथा ज्यान गुमाएकाका परिवारलाई राहत दिने गरेको छ । नेपालसहित विश्वका १३ देशमा मात्रै बाघ पाइन्छ ।

तपाईंको प्रतिक्रिया