बंगलाचुुलीमा टिप्पर राती मात्रै चल्ने

 साउन ३२, २०७८

जिवन नेपाली, दाङ । दाङको बंगलाचुली गाउँपालिकामा रहेका तीनवटा सिमेन्ट उद्योगका चुनढुङ्गा ढुवानी गर्ने टिप्परहरुलाई अबदेखि रातिमा मात्रै चल्न दिइने भएको छ । बंगलाचुली गाउँपालिका वडा नं. ४ को कार्यालयले श्रावण ३२ गतेदेखि लागु हुनेगरी बेलुका ७ बजेदेखि विहान ६ बजेसम्म मात्रै सिमेन्ट खानिका चुनढुङ्गा ढुवानी गर्न दिने गरी सरोकारवाला सबैलाई पत्राचार गरेको छ । टिप्परहरुले नागरिकलाई सास्ती दिएको भन्दै टिप्पर संचालनका लागि रातिको समय तोकिएको वडा कार्यालयद्वारा जारी गरिएको पत्रमा उल्लेख गरिएको छ । वडा नं. ४ का अध्यक्ष नारायण डाँगीद्वारा हस्ताक्षरित पत्रमा दैनिक सयौँका संख्यामा चल्ने टिप्परहरुले नागरिकलाई सास्ती दिएको भन्दै टिप्पर संचालनका लागि रातिको समय तोकीएको उल्लेख छ ।

सिमेन्ट खानिका टिप्परहरु दिनमा अव्यवस्थितरुपमा संचालन हुँदा घोराही मुर्कुटी तापा सडक खण्डमा यात्रा गर्ने यात्रुहरुलाई निकै सास्ती हुने गरेको भन्दै यस क्षेत्रका नागरिकहरुले गाउँपालिकामा निवेदन दिएको र सोको अवस्था अध्ययन गर्दा नागरिकले सास्ति व्यहोरेको हुँदा टिप्पर संचालनका लागि रातिको समय तोकिएको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले बताए ।यस गाउँपालिकामा घोराहीको गोग्लिमा रहेको सगरमाथा सिमेन्ट, लमहीको सतवरीयामा रहेको सम्राट र शुमश्री अग्नि सिमेन्ट उद्योगका चुनढुङ्गा ढुवानी गर्न दैनिक सयौँका संख्यामा टिप्परहरु चल्ने गरेका छन् ।

तपाईंको प्रतिक्रिया