नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने

 भदौ ०१, २०७८

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले अगामी भदौ २० र २३ गते ओमानमा पपुवा न्युगिनीसित दुई एकदिवसीय खेल खेल्न लागेको हो ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्ने तय भएको हो । लिग–२ अन्तर्गत नेपालले आगामी सेप्टेम्बरमा ओमान र अमेरिकासित त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने क्यानले जनाएको छ ।

त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि हाल नेपाली टोली बन्द प्रशिक्षणमा छ । बन्द प्रशिक्षणमा १९ खेलाडी सहभागी हुनुहुन्छ । बन्द प्रशिक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा, शाहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम शोब, पवन सर्राफ र रोहितकुमार पौडेल सहभागी छन् ।

तपाईंको प्रतिक्रिया