एस्ट्राजेनिका खोप नेपाल आइपुग्यो

 भदौ ०७, २०७८

काठमाण्डौ। जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार डोज खोप सोमवार काठमाडौं आइपुगेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलका अनुसार सोमवार आएको खोप सँगै जापानबाट अनुदानमा उपलब्ध गराउने भनिएको १६ लाख १४ हजार ७४० मात्रा खोप आइसकेको छ ।यसअघि साउन २३ र २४ गते नौ लाख मात्रा र यही भदौ ५ गते दुई लाख आठ हजार ७ सय मात्रा खोप नेपाल आएको थियो ।

जापानबाट उपलब्ध भएको खोप प्रदेश १ र २ का ज्येष्ठ नागरिकलाई लगाइने उहाँले जानकारी दिनुभयो । गत फागुनमा कोभिशिल्ड लगाएका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मन्त्रालयले एस्ट्राजेनिका खोप लगाइरहेको छ । भारतबाट खरिद गरिएको कोभिशिल्ड खोप नआएपछि सरकारले जापानबाट अनुदानमा एस्ट्राजेनिका खोप ल्याएको हो ।

यसैगरी चीनबाट अनुदानमा थप १६ लाख डोज भेरोसेल खोप समेत चाँडै आउने मन्त्रालयका प्रवक्ता डा। पौडेलले बताउनुभयो । नियमित आउने खोप ५० वर्ष मुनिका र प्राथमिकतामा परेकालाई लगाइने उहाँले बताउनुभयो । नेपालमा अहिलेसम्म करीब एक करोड ४० लाख मात्रा खोप आइसकेको छ । अहिलेसम्म ४९ लाख ४२ लाख २५० जनाले पहिलो मात्रा र ३८ लाख ४६ हजार ७३६ जनाले पूर्ण मात्रामा खोप लगाइसकेका छन् ।

तपाईंको प्रतिक्रिया