ओली र नेपालबीच भेटवार्ता हुँदै

 साउन १९, २०७८

काठमाडौं । नेकपा (एमाले)को विवाद मिलाउनका लागि आज अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट हुने भएको छ । गत आइतबार राति संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र उपमहासचिव बिष्णु पौडेलले अध्यक्ष ओलीसँग करिब चार घण्टा छलफल गरेका थिए ।

यता माधव नेपालसँग भीम रावल सुरेन्द्र पाण्डे लगायतका नेताहरुले करिब छ घण्टा छलफल गरेको एमाले स्रोतको भनाइ छ । त्यसपछि सोमबार दुवै समूहले स्थायी कमिटी बैठकमा छलफल गरेका थिए । आ-आफ्नो समूहमा छलफल गरेर पुन विघटित कार्यदलको तहमा छलफल भएपछि आज अध्यक्ष ओलीलाई भेट्न नेपाल तयार भएका हुन् । भेट हुने भए पनि समय र स्थान भने टुंगो लागि सकेको छैन्। ‘कुनै नाटकीय परिवर्तन भएन भने अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेट हुन्छ,’ उपनेता सुवास नेम्बाङले भने, ‘भेटघाटको समय र स्थान उहाँहरुको सचिवालयले मिलाउला ।’

विगतको दश बुँदे सहमतिका आधारलाई टेकेर त्यसमा आवश्यक फेरबदल गर्ने जिम्मा ओली नेपाललाई दिने विगतको कार्यदलले निर्णय गरेको छ । त्यस आधारमा जे जस्तो समझदारी गरे पनि पार्टीका नेता कार्यकर्ताले स्विकार्ने उच्च तहको समझदारी बनेको जनाइएको छ ।

तपाईंको प्रतिक्रिया