सडक मिचेर राखिएका ढेब्ली र ठेला हटाइयो

 साउन २०, २०७८

तुलसीपुर । तुलसीपुरको बस पार्क क्षेत्रमा अनाधिकृत रुपमा सडकपेटी मिचेर राखिएका घुम्ती (ढयाब्ली), ठेला, गाडा हटाइएको छ । कोसेली घर र त्यस आसपास क्षेत्रमा सडक मिचेर राखिएका ढयाब्ली र ठेला डोजर लगाएर हटाएको तुलसीपुर उपमहानगरपालिका–५ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाहले जानकारी दिनुभयो । करिब दुई हप्ता अघि कोसेली घर नजिकै एकै आकारमा बनाइएका ५ वटा नयाँ ढ्याब्ली रातको १२ बजे ल्याएर राखिएपछि तुलसीपुर उपमहागनरपालिकाले हटाउन सूचना जारी गरेको थियो ।

पाँच वटा ढयाब्ली राख्नेहरु करोडपति भएको भन्दै वडा अध्यक्ष वीरेन्द्र कुमार शाहले उनिहरुकै कारण दिनभरी फलफुल बेचेर साँझ बिहानको छाक टार्ने विपन्न वर्ग समस्यामा परेको बताउनुभयो । “नयाँ ढयाब्ली राख्ने करोडपति हुन् । गरिब होइनन् । त्यही भएर उनिहरुले मध्यरातमा पाँच वटा ढयाब्ली एकैपटक ल्याएर सार्वजनिक स्थानमा जबरजस्ती राखे,” वडा अध्यक्ष शाहले भन्नुभयो –“ हामीले हटाउन पटक पटक भन्यौ । मानेनन् । उनकै कारणले अन्य ठाउँमा बसेका विपन्न वर्गका मान्छेलाई समेत समस्यामा पारे ।

त्यस कारण उनिहरु गरिब होइनन् गरिब मारा हुन् ।” ३ दिने सूचना जारी गर्दै साउन १० गते सडटकपेटी मिचेर राखिएका ढयाब्ली, ठेला, गाडा हटाउन सूचना जारी गरेपनि अटेरी गरेपछि उपमहागनरपालिको प्रहरीको सहयोगमा मंगलबार डोजर लगाएर हटाएको हो । उपमहानगरपालिकाले डोजर लगाएर पाँच वटा ढब्याली हटाएको थियो भने अन्यले आफै हटाएका थिए ।

तपाईंको प्रतिक्रिया