उपत्यकाका अधिकांश विद्यालय दशैंअघि नखुल्ने

 भदौ ३०, २०७८

काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश विद्यालयमा दशैंअघि भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन नहुने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको सरोकारवालाको छलफलमा कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतार नगर्ने सहमति भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनका सहअध्यक्ष डीके ढुंगानाले विद्यार्थी संख्या धेरै भएको विद्यालय तत्काल नखोल्ने सहमति भएको बताए । कम विद्यार्थी भएको विद्यालयले भने माथिल्लो कक्षाका विद्यार्थी पठन पाठन गराउन सक्ने उनको भनाइ छ ।

निजी विद्यालय सञ्चालकको अर्को संस्था एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले पनि थोरै विद्यार्थी भएका विद्यालय मापदण्ड अपनाएर खोल्ने र धेरै विद्यार्थी भएको विद्यालय नखोल्ने सहमति भएको बताए ।

तपाईंको प्रतिक्रिया