क्याप्टेन शेर्पालाई विमान चलाउन रोक

 असोज १४, २०७८

काठमाडौं । प्राविधिक समस्या देखिएको जहाजलाई सुरक्षित अवतरण गराएको भनेर सामाजिक सञ्जालमा प्रशंसा कमाइरहेका बुद्ध एयरका पाइलटलाई कम्पनीले ‘ग्राउन्डेड’ गरेको छ । क्याप्टेन आङ्गेलु शेर्पालाई छानविन प्रतिवेदन नआउँदासम्मका लागि विमान चलाउन रोक लगाइएको हो ।

नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार पाइलटलाई ग्राउन्डेड गरिएको कम्पनीले जनाएको छ । कम्पनीका प्रवक्ता दीपेन्द्र कर्णले उक्त घटनाका सम्बन्धमा क्यान र कम्पनीले समेत छानविन गरिरहेकाले पाइलटलाई नियमानुसार ग्राउन्डेड गरिएको बताए ।

क्यानका अनुसार छानविनको रिपोर्ट नआउँदासम्म शेर्पाले आफ्नो लाइसेन्स प्रयोग गर्न पाउने छैनन् । क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले छानविनका क्रममा तथ्य–प्रमाण सबै जुटाउनु पर्ने भएकाले क्याप्टेन शेर्पाको लाइसेन्स केही दिनलाई होल्ड भएको बताए ।

तर प्राधिकरणले प्राविधिक समस्या देखिएको जहाजलाई २४ घन्टाभित्रै उडान अनुमति दिइसकेको थियो । सो विमान अहिले पनि पूर्ववतरुपमा यात्रु ओसारिरहेको छ ।

गत सोमबार बिहन ८:३० मा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको नाइन–एनएनआईको एटिआर विमान चक्का नखुलेर अवतरणमा आएको थियो ।

जहाजमा ६८ वयस्क, ५ बच्चा र चालक दलका ४ जना थिए ।

तपाईंको प्रतिक्रिया