आज विश्व मानसिक स्वास्थ्य दिवस

 असोज २४, २०७८

काठमाण्डाै । आज विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्षको अक्टाेबर १० तारिखलाई मानसिक स्वास्थ्य दिवसका रुपमा मनाउने गरिन्छ । कोरोना भाइरसको सङ्क्रमणका कारण अहिले विश्वमै मानसिक रोगका बिरामी बढ्न थालेका छन् ।

कोरोना कहर, लामो समय भएको लकडाउन, आर्थिक अभावलगायतका कारण मानसिक समस्याका बिरामी बढ्दै गएका मनोविश्लेषक बासु आचार्यले बताउनुभयो । एक अध्ययनका अनुसार मानसिक समस्याको बेलैमा उपचार गर्न नसके सन् २०३० पछि तीन जनामध्ये एक जनालाई मनोरोग लाग्ने देखिएको छ । ज्यान गुमाउने कारक तत्वमध्ये मानसिक रोग ७ औं नम्बरमा पर्छ । मानसिक समस्या बढ्दै गएकाले यो सङ्ख्या दुई नम्बरमा पुग्ने अनुमान समेत गरिएको छ ।

आचार्यका अनुसार एक जनाले आत्महत्या गर्दा २० जनाले आत्महत्याको प्रयास गरेका हुन्छन् । आत्महत्या गर्नेले आत्महत्या गर्नु पहिले नै धेरै सङ्केत दिन्छन् । तर त्यसलाई बुझ्न नसक्दा उसको ज्यान जाने गरेको आचार्यले बताउनुभयो।

मानसिक रोगीहरुले सङ्केत देखाउन थाले औषधि उपचार, परामर्शतिर लाग्नुपर्छ । मानसिक रोग लाग्नबाट बचाउने पहिलो भूमिका परिवारको हुन्छ । एक्लै बर्बराउने, टोलाउने, छाती भारी हुने, टाउको पोल्ने, निद्रा नलाग्ने जस्ता लक्षण देखिए मनोपरामर्शमा जान मनोविश्लेषक बासु आचार्यको सुझाव छ।

बेलैमा उपचार पाए मानसिक रोगलाई निको पार्न सकिन्छ । नेपालमा हरेक वर्ष मानसिक रोगीको सङ्ख्या बढ्दै गए पनि यसलाई प्राथमिकतामा नराख्दा रोगीले भरपर्दो उपचार सेवा पाउन मुश्किल छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा झण्डै २५ लाख मानिसलाई कुनै न कुनै किसिमको मानसिक समस्या छ भने झण्डै ३ लाख नेपालीमा कडा खालको मानसिक रोग छ ।

तपाईंको प्रतिक्रिया