मुगु दुर्घटना : १० जनाको सनाखत

 असोज २७, २०७८

काठमाडौं । मुगुमा भएको बस दुर्घटना परि मृत्यु भएका मध्ये दश जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बस चालक ३५ वर्षीय दानबहादुर रावल, मुगुको छायानाथ रारा नगरपालिका–७ का १२ वर्षीय आशिष शाही, १३ वर्षीया सुदिक्षा बम, १६ वर्षीय भग बम, वडा नम्बर १ का १८ वर्षीय मञ्जु मल्ल, वडा नम्बर ८ का २२ वर्षीय सरोज बिताली र नविन बुढा छन् ।

यस्तै उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु हुनेमा छायानाथ रारा–१ का चन्द्रप्रसाद भाम, वडा नम्बर ७ का १२ वर्षीय आदित्यविक्रम शाही र वडा नम्बर ८ का २८ वर्षीय टोपबहादुर विष्ट छन् । कोहलपुरमा उपचारका क्रममा ज्यान गुमाउने एक जनाको पहिचान नखुलेको बाँके प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।

१२ जना उपचाररत

उपचारका लागि नेपालगञ्ज लगिएका १६ मध्ये १२ जनाको उपचार भइरहेको न्यौपानेले बताए । घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन् । एक जना बालिकाको भने जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।

बसमा सवार अधिकांश काठमाडौं, नेपालगञ्ज, सुर्खेतलगायतका स्थानबाट दशैँ मनाउन घर फर्किएका विद्यार्थी रहेको बुझिएको छ । मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पिनागाउँमा दुर्घटना भएको हो। मृतकमध्ये १० जनाको सनाखत भएको छ। स्थानीयका अनुसार मोडमा बसको अगाडिको टायर पञ्चर भएर पड्किएको थियो । टायर पड्किएपछि बस पछाडि भीरमा खसेको थियो ।

तपाईंको प्रतिक्रिया