साफ च्याम्पियनसिप भारतले आठौं पल्ट जित्यो

 असोज ३१, २०७८


भारी वर्षा, पहिलो पल्ट फाइनल खेल्नुको तनाव, अनि ‘डगआउट’ मा मुख्य प्रशिक्षकको अनुपस्थिति । सबै खाले चर्को दबाबबीच नेपाल साफ च्याम्पियनसिप २०२१ को फाइनलमा भारतको हातबाट शनिबार ३–० ले पराजित भएको छ । नेपालको ‘टेक्निकल एरिया’ मा प्रतिबन्धका कारण प्रमुख प्रशिक्षक अब्दुल्ला अल्मुताइरी थिएनन् ।

नेपालका लागि उनको अन्तिम खेलमा खेलाडीले जित उपहार पनि दिन सकेनन् । पहिलो हाफको गोलरहित बराबरीपछि भारतले एक मिनेटको अन्तरमा दुई गोल गरेको थियो । यससँगै प्रतियोगिताको इतिहासमै पहिलो पल्ट फाइनल पुगेको नेपाल उप विजेतामै सीमित रह्यो भने भारतले प्रतियोगितामा आफ्नो एकछत्र प्रभुत्व कायम राख्यो ।
भारतले साफ च्याम्पियनसिपको उपाधि जितेको यो कीर्तिमान आठौं पल्ट हो । अहिलेसम्मका १३ संस्करणमध्ये भारतले एक अवसरमा छाडेर सबैमा फाइनल खेलेको छ । दक्षिण एसियाली फुटबलको महाशक्ति रहेको भारत नेपालविरुद्धको खेलमा पनि पूर्णत: हाबी रह्यो र उपाधिका लागि टिम उत्तिकै योग्य पनि सावित भयो ।

तपाईंको प्रतिक्रिया