न्युजिल्यान्ड टी-२० विश्व कपको फाइनलमा

 कार्तिक २५, २०७८

काठमाडौं । इङ्ल्यान्डलाई ५ विकेटको नतिजामा पराजित गर्दै न्युजिल्यान्ड आईसीसी टी-२० विश्व कप क्रिकेट फाइनलमा पुगेको छ । बुधबार राति यूएईमा भएको पहिलो सेमिफाइनलमा रोमाञ्चक जित निकाल्दै एकदिवसीय विश्व कप २०१९ को उपविजेता न्युजिल्यान्ड फाइनलमा पुगेको हो । टस जितेर फिल्डिङ रोजेको न्युजिल्यान्डसामु इङ्ल्यान्डले १६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

दोस्रो हाफमा जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । न्युजिल्यान्डका लागि ओपनर डार्यल मिट्चेलले ७२ रनको शानदार अर्धशतकीय इनिङ खेले । आफ्नो इनिङमा ४७ बलको सामना गरेका मिट्चेलले ४ चौका र ४ छक्कासहित ७२ रन बनाए । न्युजिल्यान्डका लागि अन्तिम बलमा चौका प्रहार गर्दै उनले जोडदार सेलिब्रेसनसमेत गरे ।

न्युजिल्यान्डले भरपर्दा दुई ब्याट्सम्यान मार्टिन गप्टिललाई ४ र कप्तान केन विलियमसनलाई ५ रनमा गुमाएको थियो । त्यसपछि दबाबमा परेको न्युजिल्यान्डसामु इङ्ल्यान्ड हाबी बन्दै गएको थियो । तर, अलराउन्डर जिमी निशम क्रिजमा उत्रिएसँगै उनको आक्रामक अन्दाजले न्युजिल्यान्डलाई दलदलबाट निकालेर जिततर्फ डोर्‍याएको थियो ।

जितसँगै पहिलो पटक टी-२० को फाइनलमा पुगेको न्युजिल्यान्डले भोलि हुने दोस्रो सेमिफाइनलको विजेतासँग आइतबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । भोलि हुने दोस्रो सेमिफाइनलमा पाकिस्तान र अस्ट्रेलिया भिड्ने छन् ।

तपाईंको प्रतिक्रिया