न्युजिल्यान्डमाथि भारतको ‘क्लिनस्वीप’

 मङि्सर ०६, २०७८

स्पिनर अक्षर पेटलको घातक बलिङको सहयोगमा भारतले न्युजिल्यान्डसँगको तीन टि२० आई सिरिजमा सानदार क्लिनस्विप गरेको छ । तेस्रो खेलमा भारतले न्युजिल्यान्डलाई ७३ रनले हराउँदै सिरिजमा क्लिनस्वीप गरेको हो ।

जितका लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १७.२ ओभरमाा १ सय ११ रनमा अल आउट भयो । कोलकतामा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले ३१ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५६ रनको योगदान दिएका थिए ।

रोहितको यो टि२० आई करिअरको ३० औं अर्धशतक हो । रोहित टि२० आईमा सर्वाधिक अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन् । टि२० आईमा रोहितपछि भारतीय ब्याटर विराट कोहलीले २९, पाकिस्तानका कप्तान बाबर आजमले २५ र अष्ट्रेलिया ओपनर डेविड वार्नरले २२ अर्धशतक प्रहार गरेका छन् ।

रोहितले पूर्ण कप्तानी पाएको पहिलो सिरिजमै क्लिनस्वीप गरेका छन् । भारतीय प्रशिक्षक राहुल द्रविडले पनि क्लिनस्वीपका साथ सुरुवात गरेका छन् । भारत पहिलो खेलमा ४ विकेट र दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । भारत र न्युजिल्यान्डबीच दुई टेस्ट सिरिज हुनेछ । पहिलो टेस्ट नोभेम्बर २५ देखि सुरु हुनेछ ।

तपाईंको प्रतिक्रिया