मजदुरका कुनै समस्या भए लिएर आउन मन्त्री श्रेष्ठको आग्रह

 मङि्सर ११, २०७८

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मजदुरका कुनै समस्या भए मन्त्रालयमा लिएर आउन आग्रह गरेका छन् । शनिवार काठमाडौंमा भएको एक कार्यक्रममा मन्त्री श्रेष्ठले मजदुरका कुनै पनि समस्या भए मन्त्रालयमा लिएर आउन विभिन्न संघसंस्थाहरुलाई आग्रह गरेका हुन् ।

उनले आफू मन्त्रायलमा केही लिनको लागि नभइ श्रमीक र श्रम मन्त्रालयमा केही गरौँ भन्ने उद्देश्यले आएको बताए । उनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा सक्रिय रहेका विभिन्न २१ संघसंस्थाहरुलाई मोर्डन इण्डियन स्कुलको पूर्व विद्यार्थी समाजले ट्रयाकसूट वितरण गरेकोमा आफूलाई खुशी लागेको र निःस्वार्थ सहयोग गर्दा अन्य सबैको साथ र सहयोग पाउने बताए ।‘श्रम मन्त्रालयमा केही गरौँ भन्ने उद्देश्य लिएर आएको छु, म केही लिउँ भन्ने उद्देश्यले आएको छैन । तपाईहरुले देख्नुभएको पनि छ बीचमा ताहाचलमा वैदेशिक रोजगार जाने सिलसिलामा कत्रो भीड थियो, तपाई भोलि हेर्न जानुहोस् । त्यस्तै कोरिया जाने भाइहरु ठगिएको अवस्थामा होटलमै गएर मैले जोगाएँ, यो धेरै गर्न सक्ने कामहरु तपाईहरुको आशिर्वादले भएको हो’ मन्त्री श्रेष्ठले भने, ‘म एक्लैले गर्न सक्ने केही पनि होइन । सबैको सहयोग भयो भने हामी पक्कै पनि गर्नेछौँ । गर्न सक्छौँ । त्यसैले आज २१ वटा संस्थाहरु मजदुर साथीहरु, दिनरात नभनिकन कल्पना गर्नुस् न । देख्दा सानो छ कार्यक्रम तर तपाईहरु जस्तो संस्थाले मजदुरको मेहेनतले हामी केही राहत भने पनि महशुस गरिरहेका छौँ ।’

मन्त्री श्रेष्ठले फोहोर व्यवस्थापनमा सक्रिय रहेका संघसंस्थाहरुलाई राज्यले पनि विशेष महत्व दिनुपर्ने बताए । मोर्डन इण्डियन स्कुलको पूर्व विद्यार्थी समाजले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा लागेका विभिन्न २१ संस्थाका करिव ७ सय भन्दा बढी श्रमीकहरुलाई ट्रयाकसूट वितरण गरेको हो ।

तपाईंको प्रतिक्रिया