तुलसीपुरमा पहिलो पटक सहकारी बिच एकिकरण

 पुष ०३, २०७८

तुलसीपुर । तुलसीपुरका दुई सहकारीबिच एकिकरण (मर्ज) भएको छ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र सप्तरंगी बहुमुखी सहकारी संस्था लिमिटेड बिच एकिकरण भएको हो ।तुलसीपुर–७ मा रहेको हाम्रो पहुँच र तुलसीपुर–१७ मा रहेको सप्तरंगी सहकारी शुक्रबार (आज) औपचारिकरुपमा एकिकरण भएका हुन् ।

तुलसीपुर उपमहानगरपालिकाको सहकारी ऐन २०७४ को दफा ६ को उपदफा १ बमोजिम दुई सहकारी बिच एकिकरण भएको प्रमाणपत्र आज नगरप्रमुख घनश्याम पाण्डेले हस्तान्तरण गर्नुभएको हो । नगरप्रमुख पाण्डेले संघ, प्रदेश र स्थानीय सरकारको सहकारी मर्जको नीति अनुरुप नै तुलसीपुर उपमहानगरपालिकामा पहिलो पटक हाम्रो पहुँच र सप्तरंगी एकिकरण भएको बताउनुभयो ।

एकिकरणपछि पनि सहकारीको नाम हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेको अध्यक्ष शुक्रराज भण्डारीले जानकारी दिनुभयो । दुई सहकारी मर्जलाई अन्तिम रुप दिन दुवै सहकारीको प्रक्रिया गत वर्षदेखि नै शुरु भएपनि तुलसीपुर उपमहानगरपालिकामा एकिकरणसम्बन्धि कानुन निर्माणमा ढिलाई भएका कारण केहि ढिला गरी एकिकरण भएको उहाँले बताउनुभयो ।

हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष बिजय सुवेदीले दुवै सहकारीको एकिकरणपछि वासलात १५ करोड पुगेको बताउनुभयो । दुई सहकारीको एकिकरणपछि करिब २ हजार ५ सय शेयर सदस्य पुगेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया