दैनिक छ करोडको तरकारी आयात

 पुष १०, २०७८

काठमाडौँ । नेपालमा दैनिक करिब छ करोड रुपियाँ बराबरको तरकारी भित्रिने गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको तथ्याङ्कमा यस्तो उल्लेख छ । आव २०७८/७९ को साउनदेखि मङ्सिरसम्ममा आठ अर्ब ५९ करोड रुपियाँ बराबरको तरकारी आयात गरेको छ । यस अवधिमा नेपालले सबैभन्दा धेरै आलुको आयात गरेको छ भने आलु खरिदमा मात्रै नेपालबाट पाँच अर्ब २७ करोड रुपियाँ बाहिरिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै सो अवधिमा दुई अर्ब ४७ करोडको प्याज, १८ करोड ६६ लाखको गोलभेँडा, ३७ करोड ४१ लाखको हरियो लसुन, सात करोड १७ लाखको च्याउ पनि यस अवधिमा नेपाल भित्रिएको छ ।विभागका अनुसार एक करोड चार लाखको फर्सी, ४१ लाख रुपियाँँको गाजर, चार करोडको भेडेखुर्सानी र १६ करोड रुपियाँ बराबरका हरिया सागपात नेपाल भित्रिएको छ । यस्तै तीन करोड ३७ लाखको हरियो तरकारीका गेडागुडी पनि नेपाल भित्रिएको छ । त्यसो त चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म नेपालले छ अर्ब ८९ करोडको तरकारी आयात गरिएको थियो ।

तपाईंको प्रतिक्रिया