रक्षाचौर -घोराही जोड्ने सडक कालोपत्रेका थप बजेट

 पुष २९, २०७८

तुलसीपुर । आगामी दुई वर्षभित्र काम सक्ने गरी रक्षाचौर आँखा अस्पताल हुँदै घोराही जोड्ने सडक कालोपत्रेका थप बजेट विनियोजन भएको छ । एक दशक अघि नामाकरण भएको उक्त सडकको केहि भाग कालोपत्रेका लागी यस अघि गत वर्षदेखी घोराहीबाट काम सुरु भएको छ भने राप्ती राजमार्ग अन्र्तगत रक्षाचौर आँखा अस्पतालदेखि कौवाखोलीसम्म तीन किलोमिटर कालोपत्रेको काम भईरहेको छ ।

तर पछिल्नो समय यस सडकलाई पूर्णता दिने गरी ग्रामिण सडक संजाल सुधार आयोजना मार्फत सडक कालोपत्रेको काम हुने तुलसीपुर ४ का वडा अध्यक्ष बालकृष्ण राना (धुव्र)ले जानकारी दिए । यसका लागि ८२ करोड ५७ लाख ३७ हजार ३३७ रुपैयाँमा उक्त आयोजनाले काम गर्ने भएको छ ।

शंकर पोख्रेल नेतृत्वको प्रदेश सरकारको पहलमा संघिय सरकार मार्फत गत वर्षदेखि घोराही र तुलसीपुरबाट सडक कालोपत्रेको काम सुरुवात भएकोमा अब आयोजना मार्फत थप सडक कालोपत्रे हुने उनले जानकारी दिए । आयोजना मार्फत काम गर्ने गरी आवश्यक बजेटका लागि विगतदेखि नै लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री पोख्रेल, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको अघुवाईमा आफुहरुले पहल गर्दै आएको उनले बताए ।

ढिलै भएपनि आयोजना मार्फत रक्षाचौर हुदै घोराही बाँसगजेरीसम्म सडक कालोपत्रे हुन लागेकोमा खुशी लागेको उनले बताए । गत शनिवार बनहरी एक्लेसालमा आयोजना मार्फत हुने सडक कालोपत्रे बारे सार्वजनिक सुनुवाईको कार्यक्रम गरिएको छ ।

तुलसीपुर ४ का वडा अध्यक्ष बालकृष्ण राना (धुव्र)को अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर १८ का वडा अध्यक्ष माधव वली, १९ का वडा अध्यक्ष रामबहादुर योगी, घोराही ११ का वडा अध्यक्ष कुलबहादुर लामीछाने र ईन्जिनियरहरुको सहभागिता रहेको थियो ।

कार्यक्तममा सहभागी जनप्रतिनिधि तथा सरोकारवालाहरुले आयोजना मार्फत हुने सडक कालोपत्रेको कामलाई सफल बनाउन सवैले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । वडा अध्यक्ष रानाले अब कौवाखोलीदेखि नै उक्त आयोजनाले सडककालो पत्रेको काम अगाडी बढाउने जानकारी दिए ।

रक्षाचौर, घोरनेटी, सुकिदह, खाद्रे वनहरी हँदै घोराही हापुर जोडने सडक कालोपत्रेको विगतदेखिको आफुहरुको सपना अब पुरा हुने अपेक्षा लिएको उनले बताए । आउँदो माघ महिनामा टेण्डर आह्वान गरी काम अघि बढाउने तयारी भएको छ ।

अबको दुई बर्षमा सडककालोपत्रेको काम सक्ने गरी प्रक्रिया अघि बढ्ने बताईएको छ । यसअघि सडक डिभिजन कार्यालय दाङले घोराही हापुर हुँदै आँखा अस्पताल, पवननगरदेखि पश्चिम पुरन्धारासम्म जोड्ने सडक विस्तार गर्ने प्रक्रिया अगाडी बढाई सकेको छ । घोराही हापुरदेखि पश्चिम पुरान्धारासम्म सहायक सडक मार्ग विस्तार गर्नका लागि ३३ किलोमिटरको डिपिआर भएको छ ।

तपाईंको प्रतिक्रिया