टेस्ट कप्तानबाट कोहलीले दिए राजीनामा

 माघ ०२, २०७८

भारतीय टेस्ट टिमको कप्तानबाट विराट कोहलीले राजीनामा दिएका छन् । दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टेस्ट सिरिज गुमाएसँगै कोहलीले टेस्टको कप्तानबाट राजीनामा दिएका हुन् । केही समयअघि उनलाई एकदिवसीय टिमको कप्तानबाट हटाइएपछि कोहली असन्तुष्ट थिए ।

कोहलीले यसअघि टी-२० विश्वकपपछि टी-२० को कप्तानी छाडेका थिए भने उनलाई एकदिवसीय कप्तानको जिम्मेवारीबाट बिसिसिआईले केही समयअघि हटाएर रोहित शर्मालाई जिम्मेवारी दिएको थियो । यद्यपि उनी टेस्टको कप्तान भने निरन्तर रहेका थिए। उनले दक्षिण अफ्रिकामा २-१ ले टेस्ट गुमाएसँगै कप्तानीबाट राजीनामा दिने निर्णय लिएका हुन् ।

उनले यो यात्राका क्रममा निकै उतरचढाव आए पनि आफूले निरन्तर प्रयास गरेको बताए । उनले आफ्नो टिमका लागि कहिले पनि बेइमानी नगर्ने भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले बिसिसिआई र महेन्द्रसिंह धोनीलाई पनि धन्यवाद दिए । कोहलीले धोनीले आफूलाई टेस्ट कप्तानको रूपमा विश्वास गरेर दिएको साथ अविस्मरणीय रहेको बताए।

तपाईंको प्रतिक्रिया