बेलायतमा २४ घण्टाको अबधिमा ८१ हजार ७१३ जना नयाँ सङ्क्रमित थपिए

 माघ ०२, २०७८

काठमाडौं । बेलायतमा २४ घण्टाको अबधिमा ८१ हजार ७१३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।कोरोना सङ्क्रमित सङ्ख्या एक महिनायताकै कम भएको तथ्यांकले देखाएको छ । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमण तीव्र रूपमा फैलिएपछि बेलायतमा महामारीयताकै बढी सङ्क्रमित भएका थिए । एकै दिन दुई लाख बीस हजार भन्दा बढी सङ्क्रमित हुँदै आएकोमा अहिले यो सङ्ख्या घटेर ८१ हजारमा झरेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शनिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ८१ हजार ७१३ जना नयाँ सङ्क्रमित थपिएका हुन ।

यो सङ्ख्या गत वर्ष डिसेम्बर १५ पछिकै सबैभन्दा कम हो । योसङै बेलायतमा कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५१ लाख ४७ हजार १२० पुगेको छ । बेलायतमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमण तीव्र भएपछि स्वास्थ्य क्षेत्र लगायतका विभिन्न ठाउँमा कर्मचारी अभाव भएपछि सोमबारबाट कोरोना सङ्क्रमण पोजेटिभ भएका मानिसहरूले पाँच दिन आइसोलेसन बसेर पाँचौँ र छैटौँ दिनको नेगेटिभ ल्याटरल फ्लो नतिजा आएपछि आइसोलेसनमुक्त हुन सक्नेछन् । यद्यपि कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या भने अझै उच्च छ । यहाँ पछिल्लो एक सातामा एक हजार ८४३ जनाको मृत्यु भएको छ । यो सङ्ख्या अघिल्लो साताको तुलनामा ४५ प्रतिशत बढी हो । गएको २४ घण्टामा २८७ सङ्क्रमितको मृत्यु भएको छ । बेलायतमा कोरोनाका कारण हालसम्म एक लाख ५ हजार ८९९ पुगेको छ ।

तपाईंको प्रतिक्रिया